२०८१ बैशाख २१ , शुक्रवार

 लगानीको वातावरण बनाउन अध्यक्ष ढकालको जोड

Chandra Dhakal
सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीको वातावरणका बनाउन लागि उद्योगी, व्यवसायी र आम नागरिकको आत्मविश्वास बढाउनुपर्ने बताउनुभएको छ ।
बुटवलमा आज आयोजित बुटवल उद्योग वाणिज्य सङ्घको ७०औँ वार्षिक साधारणसभामा अध्यक्ष ढकालले युवा जमात विदेश पलायन भए पनि उद्यमीहरुका लागि नेपालका हरेक क्षेत्रमा संभावना रहेका बताउनुभयो । “काम गर्ने जाँगर र लगानी गर्ने रकम भए विदेश गइरहनु पर्दैन”, उहाँले भन्नुभयो ।
अध्यक्ष ढकालले उद्योगीहरुले भोग्नु परेका समस्या समाधानबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको बताउनुभयो । उहाँले पर्यटक आगमन बढ्दै गएको, बैंकहरु लगानी गर्न इच्छुक भएकाले अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीन वटै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रका समस्या समाधान गर्न सकिने भन्दै आशावादी हुन आह्वान गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घकी एशोसिएट उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले युवा शक्ति विदेश पलायन हुँदा देशमा श्रमिक अभाव बढेको बताउनुभयो ।
महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले बैङ्कको ऋण तिर्न उद्योगी–व्यवसायीलाई कठिनाइ भएको बताउँदै सहुलियतका लागि आग्रह गर्नुभयो ।
महासङ्घका पूर्वउपाध्यक्ष किशोर प्रधानले जनप्रतिनिधि र सरकारका विभिन्न निकायका गलत निर्णयका कारण निजी क्षेत्र सङ्कटमा परेको आरोप लगउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, महासङ्घका केन्द्रीय सदस्य राजेश अग्रवाल, चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टङ्क पोखरेल, सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ, महासचिव विमलराज भट्टराईले मोतिपुर औद्योगिक क्षेत्र चाँडो स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।रासस