२०८१ बैशाख २७ , बिहिवार

बज्राचार्य समूहले निर्वाचनपछि स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने

Capture

सुनाखरी न्युज/ ललितपुर । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेद्वार विश्वराज बज्रचार्यले निर्वाचन जितेपछि स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने बताएका छन् । यही असोज २० गते शनिबार हुने संघको निर्वाचनमा बज्राचार्य प्यानलसहित चुनावी दौडमा उत्रिएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको साधारण सभा आज चलिरहेको छ । साधारणसभा सम्पन्न लगत्तै भोली शनिबार निर्वाचन हुँदैछ । निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गर्दैछ । जसमध्ये बज्राचार्य नेतृत्वको समूह प्यानलसहित चुनावी दौडमा छ ।

संघको चुनावी तयारी सम्पन्न भएपछि आफ्नो समूहका उम्मेद्वारसँगको छलफलमा बज्राचार्यले निर्वाचन जितेपछि ललितपुरका स्थानीय उत्पादनको ब्राण्डिङमा जोड दिने बताए । ‘हामि सबै ललितपुरका स्थानीय उत्पादनसँग कुनै न कुनै ढंगले जोडिएका छौं,’ बज्राचार्यले भने, ‘अब निर्वाचन जितेपछि आफ्नो स्थानीय उत्पादनलाई प्राथमिक्ता दिनुपर्छ ।’

यसबाहेक, ललिपुरमा मेला आयोजना, उत्पादन, संस्थागत सुशासन लगायतका मूख्य एजेन्डा बज्राचार्य समूहले लिएको छ । यस्तै, साना–ठूला उद्योगी व्यवसायीको छाता संगठनकारुपमा अघि बढाउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार तथा उद्योग वाणिज्य महासंघसम्म ललितपुरको बलियो प्रतिनिधित्व गराउने योजना समूहले अघि सारेको छ ।

यस्तो छ बज्राचार्यको टिम
बज्राचार्य नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले र वाणिज्य उपाध्यक्षमा रमेश भक्त मुल्मी छन् भने महासचिवमा भूमि नन्दन कमार्चाय र कोषाध्यक्षमा मिलन शाक्य छन् । उद्योग समूह सदस्यतर्फ सजना श्रेष्ठ, सुविन मान जोशी, प्रविन बज्रचार्य, प्रविण ताम्राकार, बिष्णु लाल सिकर्मी र शैशव कृष्ण श्रेष्ठ छन् ।

वाणिज्य सदस्यतर्फ बिमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेश राज बज्रचार्य, प्रविण बहादुर शाक्य, पुष्पकुमार थापा र हरिराज जोशी छन् । संस्थागत सदस्यतर्फ मिलन श्रेष्ठ र एसोसिएसन सदस्यमा रवि महर्जन उम्मेद्वार छन् ।