२०८१ बैशाख २३ , आइतवार

सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशतमात्रै

Sunakhari2

सुनाखरी न्युज/ काठमाडौं । भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण भइरहेको अस्पताल ठेकेदारको कारण अलपत्र बनेको हो ।

दुई वर्षभित्र सम्पन्न गर्ने गरी अस्पताल निर्माणको काम २०७८ साउनमा थालिएको थियो । तर ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वालमात्र लगाएर काम अलपत्र छाडेको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिनुभयो । सहजरूपमा स्वास्थ्य सेवा पाउने आशामा बसेका कोटवासीमा कामलाई देखेर निराशा बढेको उहाँको भनाइ छ ।

काम ढिला भएको विषयमा निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । काममा ढिलाइ भएकाले समन्वय गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयलाई समेत पत्राचार गरिएको उहाँको भनाइ छ । ठेकेदार कम्पनीलाई पटक–पटक कामलाई चाँडो अघि बढाउन भन्दा पनि काम नगरेको उहाँले जानकारी दिनुभयो । ठेकेदारको तर्फबाट चित्तबुझ्दो जवाफ नआएमा ठेक्का रद्द गरेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने कार्यापालिकाले निर्णय गरेको उहाँले बताउनुभयो ।

“अस्पताल निर्माणमा ठेकेदारले ढिलाइ गरेको अवस्था छ”, अधिकृत न्यौपानेले भन्नुभयो, “धेरैपटक भन्दा पनि काममा सोचेअनुसारको प्रगति नभएपछि जिल्ला प्रशासन कार्यालयलाई समन्वयका लागि पत्रचार गरेका छौँ । सम्झौताको म्याद सकिएको अवस्था छ । अब पनि काम भएन भने ठेक्का रद्द गरेर ठेकेदारलाई कालोसूचीमा राख्नका लागि पत्रचार गर्ने कार्यपालिकाबाट निर्णय गरिएको छ ।”

अस्पताल निर्माणमा ठेकेदार कम्पनी जिम्मेवार नबनेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । कामलाई चाँडो सम्पन्न गराउन गाउँपालिकाले आफ्नो तहबाट भूमिका खेलिरहेको उहाँले बताउनुभयो । “कामलाई चाँडो अघि बढाउन ठेकेदारलाई ताकेता गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ठेकेदारले विभिन्न बाहना देखाएर काम अघि बढाउन ढिलाइ गरेको अवस्था छ । अब पनि काम भएन भने कानुनी प्रक्रियाअनुसार अघि बढ्छौँ ।”

निर्माण सुरु भएको दुई वर्षमा करिब १० प्रतिशतमात्र काम भएको गाउँपालिकाका इन्जिनियर रामकुमार तामाङले जानकारी दिनुभयो । अस्पताल निर्माणको काम एक वर्ष बढी समयबाट अलपत्र अवस्थामा रहेको उहाँको भनाइ छ । “अस्पताल निर्माणको काम दुई वर्ष अवधिमा १० प्रतिशतको हारहारीमा मात्र प्रगति भएको छ”, उहाँले भन्नुभयो, “लामो समयबाट काम रोकिएको अवस्था छ ।”

अस्पतालको कामलाई चाँडो अघि बढाउनका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । ठेकेदारले काममा लापरबाही गरेकाले सोचेअनुसारको प्रगति नभएको अध्यक्ष बस्नेतको भनाइ छ । केही समयअघि फोनमार्फत काम चाँडो अघि बढाउने विषयमा कुराकानी भएको उहाँले बताउनुभयो ।

“ठेकेदारले काममा अत्यन्तै ढिलाइ गरेको अवस्था छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “काम सञ्चालन गराउन मैले पहल गरिरहेको छु । निर्माणका क्रममा आउने समस्या समाधानमा गाउँपालिकाको तर्फबाट भूमिका खेलिरहेका छौँ । तर पनि ठेकेदारले काम गर्न ढिलाइ गरेको अवस्था छ ।”

अस्पताल सम्झौताअनुसार २०८० असारभित्र सम्पन्न गर्ने गरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको हो । पन्ध्र शय्याको अस्पताल निर्माणको कुल लागत रु १० करोड १४ लाख रहेको छ । हालसम्म निर्माण कम्पनीले पेश्कीबापत रु ८४ लाख भुक्तानी गरिसकेको गाउँपालिकाले जनाएको छ ।
रासस