२०८१ बैशाख १७ , सोमवार

सेजन नयाँ कार्यसमितिलाई नेपाल उद्योग परिसंघको बधाई, अर्थतन्त्रका विषयमा छलफल

Capture

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना सहित अर्थतन्त्रका विषयमा छलफल गरेको छ ।

विहिबार परिसंघ सचिवालयमा आयोजित बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले सेजन अध्यक्ष सुजन ओलीसहित कार्यसमिति सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका लागि सबैको प्रयासको खाँचो रहेको बताउनुभयो । विदेशी मुद्रा संचितीमा दबाब पर्दा लिइएको नीति, कोभिड १९ को असरबाट बाहिर निस्कन नपाउँदै प्रभावित क्षेत्रलाई दिइएको छुट तथा सुविधा एकै पटक हटाउँदा अर्थतन्त्र आजको अवस्थामा आइपुगेको उहाँले बताउनुभयो ।

 

आर्थिक मन्दीका कारण उद्योग व्यवसायी, सरकारलगायत सर्वसाधारण समेत खर्च गर्न डराएका कारणले माग घटेको भन्नुहुँदै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन बजारमा पैसा पठाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अर्थतन्त्रलाई थप जटिलतामा जानबाट रोक्न समयमै सुधार गरिनुपर्ने बताउनुभयो । “अर्थतन्त्रलाई डीप डिप्रेसनमा जानबाट रोक्न समयमै सुधार गर्नुपर्छ, ढिलो गरी गरिने सुधारले काम नगर्न पनि सक्छ”, उहाँले भन्नुभयो । अर्थतन्त्रलाई छिट्टै सुधारतर्फ लैजान सरकारले पूँजीगत खर्च गर्नुपर्ने, निर्माण व्यवसायीहरुलाई दिनुपर्ने भुक्तानी दिनुपर्ने उहाँले बताउनुभयो । यसैगरी राष्ट्र बैंकले प्रभावित क्षेत्रका लागि कर्जाको पुनर्संरचना र पुनर्कर्जाको पैसा दिनुपर्ने बताउनुभयो ।

सेजनका नवनिर्वाचित अध्यक्ष ओलीले व्यवसायिक वातावरण बनाउन काम गर्नुपर्ने बताउनुभयो । सेजन नीतिगत सुधारमा लागेको भन्नुुहुँदै कानून तथा नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनुभयो । सो कार्यक्रममा परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, भीम घिमिरे, परिसंघ पदाधिकारी सदस्य गोकुल भण्डारी, सन्दिप सारडालगायत सहभागी हुनुहुन्थ्यो ।