२०८३ श्रावण २६ , मंगलबार

ज्याग्दीखोला साहित्य–कला पुरस्कार साहित्यकार पोषराज पौडेललाई

Capture

शिशिर उजाड/ पोखरा । प्रगतिशील साहित्यकार पोषराज पौडेललाई ज्याग्दीखोला साहित्य–कला पुरस्कार २०८० प्रदान गरिने भएको छ ।

 

ज्यााग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्गजाले प्रत्येक वर्ष प्रदान गर्ने सो पुरस्कार यस वर्ष साहित्यकार पौडेललाई अर्पण गर्ने निर्णय गरेको हो । छनौट समितिका संयोजक त्रिलोचन ढकाल, प्रतिष्ठानका उपाध्यक्ष अग्नी पल्लव र रेशम गोतामेको समितिले गरेको सिफारिषका आधारमा निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । पोखरा महानगर पालिका साविकको लामाचौर गाविस, घार्मीमा जन्मिएका पौडेलको स्थायी वसोवास भने चितवनमा रहेको छ ।श्रमजिवी र दविएका वर्गका आवाजलाई साहित्य मार्फत उठान गर्ने साहित्यकार पौडेलका माडी यात्रा (खण्डकाव्य), मेक्सिम गोर्की (कवितात्मक जीवनी), आमा स्मृतिका छालहरु (शोक काव्य), पागल प्रलाप (काव्य), शहीद गाथा (महाकाव्य), आर्दश कोकिल (काव्य), अग्निगर्भका आवाजहरु (कविता संग्रह), अतितका पानाहरु (आत्मकथा), स्वप्न विम्व –काव्य), शुक्ला गण्डकी (महाकाव्य), लगायतका थुप्रै फुटकर कविता, लेख रचना प्रकाशित छन् । दशैं पछि विशेष कार्यक्रमका विच प्रदान गरिने पुरस्कारको राशी नगद १० हजार र सम्मान पत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

 

घार्मीको शैक्षिक तथा साहित्यीक विकासमा महत्वपुर्ण योगदान पुर्याएका पौडेल मदन मोहन स्मृति पुरस्कार २०६९,शारदा स्मृति पुरस्कार २०७०, र पोखरामा पनि गण्डकी वाङ्मय पुरस्कार २०७१ सहित महेन्द्र मा.वि घार्मी लगायतका विभिन्न संस्थावाट सम्मनित भई सकेका छन् । प्रतिष्ठानले साहित्यकार डा. गोविन्द प्रसाद शर्मा सुकुम लाई विश्वराधा नेत्रा साहित्य पुरस्कार २०८०,र साहित्यकार वनमाली निराकारलाई साहित्य सम्मानवाट सम्मानित गर्ने जनाएको छ ।