२०८१ बैशाख २४ , सोमवार

बझाङमा भूकम्पमा परी दुई जना घाइते, राजमार्ग अवरुद्ध

earthquake

सुनाखरी न्युज/ काठमाडौं ।
मंगलबार दिउँसो गएको भूकम्पका कारण बझाङमा दुई जना घाइते भएका छन् । स्थानीय बासिन्दाले दुई जना घाइते भएको प्रहरीलाई जानकारी गराएपनि उनीहरुको परिचय र अवस्था भने नखुलेको प्रहरी नायब उपरीक्षक शाहले बताए । भूकम्पका कारण ठाउँ÷ठाउँमा भवनहरु भत्किएको खबर आइरहेपनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय, हिमालय माध्यमिक विद्यालयको भवन चर्किएको छ ।

भूकम्पसँगै आएको सुक्खा पहिरो जादा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडक माथिबाट पहिरो जादा जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले परकम्प आउने क्रम जारी रहेका कारण सडक खुलाउन नसकिएको बताए । पाण्डेयले सडक खुलाउन डोजर लगायतका उपकरण तयारी अवस्थामा राखिएको बताए । उनले जिल्लामा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताउदै सूचना संकलनको काम भइरहेको जानकारी दिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दू बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो ।

त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दू बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो ।