२०८१ बैशाख २६ , बुधवार

बनेपामा निःशुल्क स्वास्थ्य परीक्षण

Nurse Health

सुनाखरी न्युज/ काठमाडौं ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । नगरपालिकाले हरेक वडामा स्वास्थ्य क्लिनिकमार्फत सुरु गरेको स्वास्थ्य परीक्षण अभियानमार्फत स्थानीयमा के कस्ता रोग छ भन्ने तथ्याङ्क सङ्कलनसमेत भइरहेको जनाएको छ ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि तत्कालीन र दीर्घकालिन स्वास्थ्य नीति बनाउने उद्देश्यले अभियान सुरु गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । “उपलब्ध स्रोतसाधानले भ्याएसम्म अधिकतम सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो । वडास्तरका क्लिनिकमा स्वास्थ्य परीक्षणसँगै आवश्यक परामर्शसमेत दिइन्छ ।

क्लिनिकमा बालबालिका, गर्भवती, जेष्ठ नागरिकको पनि स्वास्थ्य जाँच तथा परामर्श दिइन्छ । समयमा स्वास्थ्य परीक्षण गराई आफ्नो स्वास्थ्यप्रति सचेत रहन नगरले अपील गरेको छ । नगरपालिकाले यही असोज १२ गतेदेखि तेस्रो चरणको अभियान सञ्चालन गरेको हो ।

क्लिनिकमा नसर्ने रोगको उपचार तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिँदै आइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शम्भुकुमार महतोले बताउनुभयो । उहाँका अनुसार यसअघि साउनमा पहिलो चरण र भदौमा दोस्रो चरणको क्लिनिक सञ्चालन गरिएको थियो ।

पहिलो चरणमा चार हजार दुई सय ९६ र दोस्रो चरणमा तीन हजार २८ स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । परीक्षण गराएकामध्ये अधिकांशमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको महतोले बताउनुभयो ।
यसका अतिरिक्त बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार तीन सय ८२ विद्यार्थीको निःशुल्क आँखा परीक्षण अभियान थालिएको छ । वडा न ६ स्थित भक्तेश्वर माध्यमिक विद्यालयबाट आँखा परीक्षणको औपचारिक शुरुवात गरिएको हो ।

“स्थानीय नागरिकका लागि आधारभूत स्वास्थ्य उपलब्ध गराउने नगरको दायित्व भएकाले आँखालगायत नसर्ने रोग नियन्त्रण र त्यसको परीक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान शुरु गरेका हौँ”, शाक्यले भन्नुभयो ।

नगरका बालबालिका, महिला र जेष्ठ नागरिकका साथ नगरभित्रका विपन्न समुदायका नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरले आधारभुत अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति तथा सुविधा सम्पन्न बनाउँदै लगिएको नगर उपप्रमुख विमला सापकोटाले बताउनुभयो । उहाँका अनुसार अभियानअन्तर्गत आँखा परीक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइएको छ ।
रासस