२०८१ जेठ ५ , शनिवार

हिरासतमुक्त भए अभिनेता अनमोल केसी

anomal

सुनाखरी न्युज /  काठमाडौं ।

ठगी आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन्। काठमाडौं जिल्ला अदालतले उनीमाथि तीन दिन अनुसन्धान गर्न दिएको समय समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् । चलचित्र ‘रावायण’ फिल्मका लागि एड्भान्स लिएर काम नगरेको र रकम पनि फिर्ता नगरेको भन्दै निर्माता सुप्रिया कटुवालले दायर गरेको उजुरीपछि केसी पक्राउ परेका थिए।

 

अदालतले केसीको तीन दिन म्याद थपेकोमा शुक्रबारदेखि गणना भएकाले आइतवार नै म्याद गुज्रिएपछि उनी छाडिएका हुन् ।शुक्रबार पक्राउ परेका केसीलाई प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। अदालतले उनलाई तीन दिनको म्याद थप गरेको थियो। तर अदालतले उक्त तीन दिनको म्याद आजसम्मको लागि मिलान गरेको थियो।

 

अब अनमोल प्रहरीले बोलाएको बेला हाजिर हुनु पर्नेछ । हिरासतबाहिर बस्दा प्रमाण लुकाउने वा नष्ट गर्ने सम्भावना नदेखिएपछि उनलाई हाजिरी जमानीमा छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । आपराधिक विश्वासघातको मुद्धामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । आरोपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरी अधिकारीले हाजिरी जमानीमा छाड्नसक्ने प्रावधान छ । उनी आफ्नै गाडीमा चढेर निवास फर्किएका थिए ।

 

फिल्म ‘रावायण’मा काम गर्ने भनेर १० लाख रुपैयाँ पेस्की रकम लिएको, तर पछि विभिन्न बहाना बनाएर काम गर्न नमानेको भन्दै निर्देशक सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले यही असोज ८ गते अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही उजुरीको आधारमा उनी पक्राउ परेका थिए ।