२०८१ बैशाख २२ , शनिवार

सोल्टी होटेलको सेयर बेचेर जहाज खरिद गर्न नेपाल वायुसेवा निगमलाई सुझाव

Plane Nac

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल वायुसेवा निगमको संरचनागत एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले प्रतिवेदन बुझाएको छ । तीन महिना बढी समय लगाएर पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वले तयार गरिएको प्रतिवेदनमा समितिले निगमको व्यवस्थापकीय, मानव संसाधनदेखि व्यावसायिकतामा व्यापक कमीकमजोरी औँल्याउँदै सुधारका लागि दर्जनौँ सुझाव दिएको हो ।

भरपर्दो तथा सर्वसुलभ भाडामा सेवा प्रदान गर्न र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ वि।स। २०१५ सालमा नै स्थापित निगमले व्यावसायिक सफलताका लागि ठुलो सम्भावना भए पनि लगानी र भएको पुँजी सम्पत्तिको समुचित प्रयोगमा कमजोरीका कारणले व्यावसायिकतामा पछि परेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भएका जहाज ग्राउन्डेड हुने, नयाँ नथप्ने र ऋणमा खरिद गरिएको जहाजको ऋणको भारले निगम झन्झन् कमजोर बन्न पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अहिलेको प्रतिस्पर्धी बजारमा निगमलाई सबल बनाई पुनः प्रतिस्पर्धामा उतार्न जहाजको सङ्ख्यासँगै व्यावसायिक सक्रियता बढाउनुपर्ने समितिले औँल्याएको छ ।

यसका लागि निगमको आन्तरिक स्रोतको बढी भन्दा बढी उपयोग गर्दै जहाज खरिद तथा सञ्चालन गर्नुपर्ने समितिले सुझाव दिएको छ । निगमको स्वामित्वमा सोल्टी होटेल लिमिटेडको १ करोड ३ लाख हजार ६९९ कित्ता सेयर रहेको छ । मिति २०८०।०५।१९ मा उक्त सेयरको बजार मूल्य प्रतिकित्ता ४४३ देखिएको र उक्त बराबर ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपैयाँ पुगेको देखिन्छ । सोल्टी होटेल लिमिटेडको उक्त सेयर बिक्री गरी प्राप्त हुने रकमलाई नयाँ जहाज खरिदमा प्रयोग गर्न समितिले सुझाव दिएको छ ।

यस्तै, यसअघि न्यारो बडीसहित वाइड बडी जहाज खरिदमा लिइएको ऋणको सावाँ ब्याजसहित ४८ अर्ब रुपैयाँ माथि पुगेको र सो ऋणको ब्याज समेत १० प्रतिशतमाथि रहेकाले सस्तो ऋण खोजी पुरानो ऋण तिर्न समितिले सुझाव दिएको छ ।

समितिलाई विभिन्न ८ वटा क्षेत्रमा अध्ययन गरी सुधारका लागि सिफारिस पेश गर्न कार्यादेश प्रदान गरिएको थियो। आठवटा कार्यादेश मध्ये दुई प्रमुख छन्: व्यवस्थापन र संरचनागत सुधार । व्यवस्थापन सुधार अन्तर्गत मुख्यरुपमा पुँजी, ऋण अनुपात अवस्था, सञ्चालनमा रहेका विमान, भूमिस्थ सेवा, ऋण उठाउने, बजार व्यवस्थापन, मानव संसाधन आदिबारे प्रतिवेदनमा संलग्न भएको छ । संरचनागत सुधारमा मुख्य रूपमा निगमको विभाजन, कार्यकारी प्रमुखको नियुक्ति, थप विभाग, नियामक निकायसँगको सम्बन्ध र ऐनमा संशोधन आदि प्रतिवेदनका हिस्सा भएको छ ।

पूर्व गभर्नर क्षेत्री नेतृत्वको ५ सदस्यीय समितिमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई र साहारा न्यौपाने सदस्य रहेका थिए । समितिले आज नेपाल वायुसेवा निगमका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीलाई प्रतिवेदन बुझाएका हुन् ।