२०८२ फाल्गुन २९ , शुक्रवार

कुशलकी आमा भन्नुहुन्छ– ‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राख्यो निकै खुसी छु’

kaushal

सुनाखरी न्युज  / काठमाडौं ।

चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेर्नुभयोकुशलकी आमा भन्नुहुन्छ– ‘साग केलाउँदै छोराको खेल हेरेँ, देशको नाम राख्यो निकै खुसी छु’। प्रतियोगितामा सहभागी हुन चीन जाँदा बिदाइ गर्नुभएकी शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरिरहँदा नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई दुई सय ७३ रनको भारी अन्तरले पराजित गरेपछि उहाँमा कुनै खुसीको कुनै सीमा रहेन ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा कुशलले हरेक खेल खेल्दा आमा शर्मिलाले प्रायः छोराको खेल नहेर्ने भए पनि यसपटक भने पूरै खेल हेर्नुभयो । उहाँले छोरा कुशलको हरेक खेलमा आक्रामक प्रस्तुति हुने भएकाले कतै छिट्टै नै खेलबाट बाहिरिनुपर्ने हो कि भन्ने चिन्ताले टिममा अन्य खेलाडीको प्रस्तुति हेरे पनि कुशलको खेल प्रायः नहेर्ने गरेको बताउनुहुन्छ । तर यसपटकको खेल भने सुरुदेखि नै हेरेको र कुशलले निकै उत्कृष्ट खेलेको देख्दा खुसी लागेको सुनाउनुभयो ।

 

बुटवल उपमहानगरपालिका–११ देवीनगरका स्थायी निवासी कुशलको परिवार हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका मातातीर्थमा बसोबास गर्दै आएको छ । “म छोराको खेल कहिलेकाहीँ मात्र हेर्छु, ऊ सधैँ आक्रामक खेल्छ त्यसैले छिट्टै आउट हुने हो कि भन्ने चिन्ता लाग्छ”, उहाँले भन्नुभयो, “अस्तिको खेल त घरमा साग केलाउँदै सुरुदेखि नै पूरै हेरेँ निकै उत्कृष्ट प्रस्तुति पो देखायो त, अनि खुसीको कुनै सीमा नै रहेन ।” कुशलका पिता रोमन्त वैदेशिक रोजगारीमा हुनुहुन्छ । मल्ल परिवारका एकमात्र सन्तान कुशल खेलकुदको क्षेत्रबाट देशकै नाम उँचो राख्ने गरी १९औँ एसियाली खेलकुदअन्तर्गतको टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याएकामा विदेशमा रहनुभएका बाबु रोमन्त झनै खुसी हुनुहुन्छ । उहाँ खुसी हुनुको कारण पनि आफैँ खेलाडी भएकाले पनि हो । कुशलका पिता रोमन्त पनि तेक्वान्दोका ब्याकबेल्ट प्राप्त खेलाडी हुनुहुन्छ ।

 

कुशलका क्रिकेट गुरु नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी तथा प्रशिक्षक शक्ति गौचन हुनुहुन्छ । जुन बेल कुशल होराइजन स्कुलमा अध्ययन गर्न आए त्यसबेलादेखि नै उनले क्रिकेटको योग्य प्रशिक्षक गौचनको साथ पाए । कुशलको क्रिकेटको विकासमा गौचनको महत्त्वपूर्ण योगदान रहेको शर्मिला बताउनुहुन्छ । “गौचन सरले घरमै कैयनपटक आएर हामीलाई समेत बाबुको क्रिकेटमा राम्रो सम्भावना छ, अगाडि बढ्न सक्छ भन्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा पुर्याउनमा गौचन सरले नै धेरै गर्नुभएको हो ।” कुशललाई करिब १२ वर्षको उमेरदेखि नै प्रशिक्षित गर्दै आएका राष्ट्रिय प्रशिक्षक गौचनले सानै उमेरदेखि नै कुशलमा क्रिकेटप्रतिको लगाव र मेहनतले नै अहिले यो अवस्थामा आएको बताउनुभयो ।

 

क्रिकेट सिक्दै जाँदा उनीमा देखिएको ‘पावर हिटिङ’ र ‘लेफ्टहेन्डेड’कै कारण उसले खेललाई थप क्षमता प्रदर्शन गर्न सकेको बताउनुहुन्छ । “क्रिकेट खेल हो कहिले उतारचढाव भइरहन्छ, उसको खेलप्रतिको लगाव र निरन्तरताको परिणाम अहिले देखिन थालेको मान्न सकिन्छ”, उहाँले भन्नुभयो, “खेलमा थप मेहनत, लगानी गर्दै जाने हो भने अझै राम्रो परिणाम आउन सक्छ, उसको क्रिकेटको भविष्य राम्रो छ ।” प्रतियोगितामा कुशलले जम्मा ३४ बलमा शतक पूरा गर्दै टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान कायम गरेका हुन् । उमेरले भर्खर १९ वर्ष पुगेका उनी नेपाली क्रिकेटमा बायाँहाते आक्रामक ब्याटर हुन् । उनको ब्याटिङ गर्दा छक्का वा चौका हुने सम्भावना प्रशस्त बन्ने गर्छ ।

 

कुशल क्रिकेट खेलप्रति सानैदेखि रुचि राख्ने गर्दथे । सुरुमा प्रारम्भिक शिक्षा बुटवलको तत्कालीन वडा नं ५ स्थित इडन बोर्डिङ स्कुलबाट सुरु भएको हो । पछि माध्यमिक शिक्षासँगै उच्च माविसम्मको अध्ययन बुटवलकै न्यू होराइजन स्कुलमा भएको हो । “सानैमा खेलौनाको ब्याट र टिटीबल बोकेर खाली चौरमा साथीहरूसँग क्रिकेट भन्दै दौडन्थ्यो, पछि ठूलो भएपछि क्रिकेट बलमै चौरमा साथीहरूसँग खेल्दा छिमेकीका घरका झ्यालमा लागेर सिसा फुटेर कयौँपटक गाली खाएको अहिले पनि सम्झना आउँछ”, शर्मिलाले भन्नुभयो, “हामी परिवारबाट भने कहिल्यै खेल्न रोक लगाएनौँ बरु क्रिकेटसँगै पढाइ पनि सँगसँगै अगाडि बढाए हुन्थ्यो भन्ने लाग्थ्यो ।”     भरत केसी/रासस