२०८१ जेठ २ , बुधवार

सद्भावका लागि गुरू साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेद्वारा महाभिषेक हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बुद्ध धर्मका गुरु ४१औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेको उपस्थितिमा महाभिषेक (वाङ्छेन्) कार्यक्रम हुने भएको छ । व्योम कुसुमा बुद्ध धर्म सङ्घका अध्यक्ष मुकुन्द विष्टले यही असोज २७ मा तारागाउँ खुला चौरमा महाभिषेक गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विश्वशान्ति, सद्भाव, भाइचारा र मानवताका लागि सकारात्मक ऊर्जा र सद्भाव प्रवाह गर्न महाभिषेक गर्न लागेका हौँ, यसले सकारात्मकतातर्फ प्रेरित गर्नेछ ।” सोही सङ्घका धर्मधर नारायणप्रसाद रिजालले हिंसा, युद्ध, शक्तिको होडबाजीजस्ता मानव सिर्जित समस्याले आक्रान्त रहेको समयमा यस्ता गतिविधिले शान्तिको मार्ग देखाउने बताउनुभयो ।

“साधनाका हिसाबले काठमाडौँ सुयोग्य छ, गुरुलाई विशेष आग्रह गरिएकाले उहाँले यो समयमा यहाँ महाभिषेक गर्न तयार हुनुभयो, यो सबैका लागि खुल्ला छ, सहभागी हुन् सक्नुहुनेछ”, धर्मधर रिजालले भन्नुभयो । धेरै मण्डलहरुको सिद्धि गरिसकेका महामण्डलाधिपति महान् गुरु ठ्रिछेन् रिन्पोछेद्वारा सम्पन्न हुने महाअभिषेक शान्ति, परस्पर सद्भाव र मैत्रीको सञ्चार गर्ने पवित्र उद्देश्यले गर्न लागिएको सङ्घले जानकारी दिएको छ ।

चीन र भोट क्षेत्रका धेरै पूर्वगुरुहरुले पनि नेपालमा रहेर बुद्धका शिक्षा र वज्रयानका उपदेशहरुलाई सिक्ने र यहाँबाटै भारत, श्रीलङ्का, म्यान्मार, क्याम्बोडिया, लाओस्, इन्डोनेसिया आदि तमाम एसियाली मुलुकहरुतिर गएर थप कुराहरु सिक्दै फेरि यही बाटो हुँदै आ–आफ्ना क्षेत्रमा लगी स्थापित गर्ने गरेको तथ्य इतिहासमा लिपिबद्ध छ । अध्ययन या चिन्ततन–मनन र अभ्यास गर्नु सबैका लागि प्रेरणास्पद हुने उद्देश्यका साथ महाअभिषेक आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।
रासस