२०८१ बैशाख १६ , आइतवार

राष्ट्र बैंकका गभर्नर र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, मार्जिन कर्जाको सीमा बढाउनेलगायतका विषयमा छलफल

mahaprashad-adhikari-and-ramesh-kumar-hamal

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ ।  राष्ट्र बैंकमै पुगेर सोमबार हमालले गभर्नर अधिकारीसँग भेट गरेका हुन् ।

गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच पूँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी लगायत धितोपत्र बजार र अर्थतन्त्रको समसामयिक विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । छलफलमा विशेष गरेर अर्थतन्त्रसँगै सेयर बजारमा देखिएको निराशा लगायतका विषयमा छलफल भएको हो ।

 

बोर्ड अध्यक्ष हमालले धितोपत्र बजारको विकास तथा प्राइभेट इपक्वटीमा लगानी गर्नेबाटो खोल्न लगायतका विषयमा गभर्नरसँग छलफल भएको बताए ।
धितोपत्र बोर्डको अध्यक्ष हमालले सेयर बजारको नैराश्यता कम गर्न मार्जिन प्रकृतिको सेयर धितो कर्जाको व्यक्तिगत सीमा १२ करोडबाट बढाउनुपर्ने बताएका थिए ।

 

उनले व्यक्तिगत लगानीकर्तालाई उक्त सीमा सामान्य बढाएर संस्थागत लगानीकर्तालाई भने दायर केही फराकीलो बनाउनुपर्ने बताएका थिए ।

 

संस्थागत लगानीकर्ताहरुबाट सरकारको राजस्व पनि बढ्दै भन्दै उक्त सीमा बढाएर सेयर लगानीकर्ताको मनोबल बढाउनुपर्ने बोर्ड अध्यक्ष हमालले भनेका थिए ।

जवाफमा गभर्नर अधिकारीले पनि त्यसमा आफू सकारात्मक रहेको भन्दै चाँडै त्यसमा निर्णय गर्ने बताएका हुन् ।

बोर्ड अध्यक्ष हमालले प्राइभेट इक्विटीमा बैंकहरुलाई लगानी खुला गर्न पनि गभर्नरलाई आग्रह गरेका हुन् । प्राइभेट इक्विटीले इनोभेसनदेखि अर्थतन्त्रको विस्तार हुने र साना लगानकिर्ताले लाभ लिने सक्ने भएकोले प्राइभेट इक्विटीमा बैंकको लगानी खोल्न बोर्ड अध्यक्ष हमालले गभर्नर अधिकारीलाई आग्रह गरेका हुन् ।

गभर्नर अधिकारीले पनि त्यसमा आफू सकारात्मक रहेको बताएका थिए ।