२०८१ बैशाख २३ , आइतवार

प्रहरी जवान आधारभूत तालिमका २ हजार ४ सय ११ जना प्रहरी जवान दीक्षित

Capture

सुनाखरी न्युज/ काठमाडौं । विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिममा सहभागी २ हजार ४ सय ११ जना प्रहरी जवानहरू आइतबार दीक्षित भएका छन् ।

ती मध्ये ४ सय ६७ जना महिला र १ हजार ९ सय ४४ जना पुरूष रहेका छन् । नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालको दीक्षान्त समारोहमा प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त गणबाट १ सय १ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजको दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त शिक्षालयबाट १ सय ३ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त महाविद्यालयबाट १ सय ८९ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् । कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको दीक्षान्त समारोहमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८३ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८० जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको दीक्षान्त समारोहमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ७७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट २ सय ८७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)को दीक्षान्त समारोहमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट ३ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको दीक्षान्त समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त तालिम केन्द्रबाट १ सय ९६ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् । साथै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट १ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले आ-आफ्नो दीक्षान्त समारोहमा प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिनुभएको थियो ।
रासस