२०८१ बैशाख १७ , सोमवार

श्रमदान गरेर सडक मर्मत

Capture

सुनाखरी न्युज/ काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् ।

जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको माओवादी केन्द्र मालिका गाउँ कमिटीका सचिव लालबहादुर घतानेले जानकारी दिनुभयो ।

“स्थानीयवासीको आवश्यकताअनुसार विभिन्न चार वटा समूहमा विभाजन भएर सडकमा खसेको पहिरो पन्छाउने काम गरिएको हो”, उहाँले भन्नुभयो, “२० जनाभन्दा बढी नेता कार्यकर्ता, जनप्रतिनिधि र सर्वसाधारण श्रमदानमा सहभागी हुनुभयो ।” अदिभारा, औला, डाँडागाउँ र किटिनी खण्डमा सडक मर्मत गरिएको थियो । वर्षाका कारण भत्किएको सडक मर्मतमा श्रमदान कार्यक्रमले सहयोग पुगेको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । विभिन्न ठाउँमा पहिरो पन्छ्याउने, पर्खाल निर्माण, नाली निर्माण र मर्मत गर्नेलगायत काम गरिएको छ ।

“वडा र पालिकाको बजेटले मात्र अवरुद्ध सडक खुलाउन सम्भावना थिएन, अहिले श्रमदान कार्यक्रमले सहज भएको छ”, वडाध्यक्ष बुढाले भन्नुभयो, “सडक सञ्चालन भएपछि स्थानीयवासीसँगै छिमेकी जिल्ला तमान गाउँपालिका आवतजावत गर्ने यात्रु र खाद्यान्न ढुवानीमा समेत सहज भएको छ ।” रासस