२०८१ जेठ ६ , आइतवार

स्वास्थ्य चौकी जाने बाटो नहुँदा नयाँ भवन प्रयोगविहीन

paharo 4

सुनाखरी न्युज/ काठमाडौं । सरसफाइ गरेर बिरामीको दैनिक आउजाउ हुनुपर्ने स्वास्थ्य चौकी भवन झाडीभित्र छ । झाडीले घेरिएकोले भवन जीर्ण बन्न लागिसक्यो तर प्रयोग हुने कहिले भन्ने यकिन छैन ।

काठेखोला गाउँपालिका–२ भीमापोखरा स्वास्थ्य चौकीको भवन बनेको तीन वर्ष पुगिसक्यो । आकर्षक दुईतले पक्की भवनमा अहिले ताला लगाइएको छ । वरिपरि झार उम्रेको छ । बाहिरबाट हेर्दा यो झाडीभित्रको जीर्ण घरजस्तो देखिन्छ । झण्डै रु तीनकरोड लागतमा बनेको यो भवन अलपत्र परिरहेको बेला नजिकैको पुरानो भवनमा भने ठाउँ नपुगेर सेवा प्रवाह गर्न बाध्य भइरहेको स्वास्थ्यकर्मीले बताउनुभयो । नयाँ भवनबाट दिनुपर्ने सेवा पुरानो भवनबाट दिँदा ठाउँ अभाव भएको छ । ‘बर्थिङ सेन्टर’समेत रहेको भीमापोखरामा प्रसूति कक्ष, बिरामी जाँच, स्वास्थ्यकर्मीको आबाससहित प्रशासन कक्ष र ‘कोल्डचेन’ कोठा बनाउन पुग्ने गरी भवन भने अलपत्र परेको हो ।

भवन बनिसकेर पनि स्वास्थ्य चौकीमा जाने सडक नभएपछि अलपत्र परेको हो । पहिला पूर्वी खण्डबाट जाने सडक बनाउने सहमतिअनुसार भवन बनेको थियो भने अहिले पश्चिमतर्फको जग्गा खोजी भएकोमा जग्गावालाले नदिएर भवन उपयोगविहीन भएको स्थानीयले बताएका छन् । “हामीले पूर्वतर्फको बाटोमा जोड्ने गरी भवन बनाएका हौँ, तर अहिले घर जोखिममा पर्ने भएर सडक जोडिएको छैन”, काठेखोला गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सोम शर्माले भन्नुभयो, “पश्चिमतर्पmको सडक खुलाउने सहमति भइनसकेकाले ढिला भएको हो ।” तत्काल सरोकारवालाको छलफल राखेर बाटो खुलाउने उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीका प्रमुख आशिस सापकोटाले भवन बनिसकेपछि सरुवा भएर आएकाले पूर्वशर्त के कस्तो भएका छन् भन्ने बुझ्न नसकेको जानकारी दिनुभयो । पूर्वसहमति भएको तर्फको सडक नखुलाइएको र पछि नजिक परेपछि जग्गा माग्दा नपाएको उहाँले बताउनुभयो । बनेको भवन जीर्ण भएको तर पुरानो भवनमा बसेर काम गर्न अप्ठेरो भएको उहाँको अनुभव छ । भवनभित्र आवास भए पनि उनी डेरामा बस्ने गरेका छन् पुरानो भवनमा भने पानी चुहिएकाले सामान सुरक्षित राख्नसमेत कठिन छ ।

सुरक्षित सुत्केरी सेवा पनि दिनुपर्ने स्वास्थ्य चौकी पुरानै भवनमा चलेकाले धेरैले नयाँ भवन प्रयोग गर्न सुझाएका छन् । स्वास्थ्य चौकीमा दक्ष प्रसूतिकर्मीको दरबन्दी छ तर कोठा अभावमा गोपनीयता नहरेको गुनासो छ । उपचारपछि राख्ने कोठा तथा सरसफाइका लागि भित्रै शौचालयको अभाव छ । नयाँ भवनमा सबै व्यवस्थापन भए पनि सञ्चालनमा आउन नसकेको हो । बनेको भवन हालको सडकदेखि सिँढीबाट झर्नुपर्ने स्थानमा छ । पश्चिमतर्फ बाँसघारी छ । त्यो फाल्दा पहिरो जाने खतरा छ भने पूर्वतर्फ सडक खन्दा दुईवटा घर बग्ने जोखिम छ ।

स्थानीयले चार रोपनी जमिन दिएपछि भवन बनाउने अवसर पाए पनि प्रयोगमा ल्याउन समस्या भएको वडा अध्यक्ष विद्यापति शर्माले बताउनुभयो । “कसैले जग्गा नदिएर काम रोकिएको भन्ने हल्ला चलेको रहेछ”,उहाँले भन्नुभयो, “जोखिम बहन गर्न नसकिएला भनेर ढिला गरेका हौँ ।”

भवन सञ्चालनमा ढिला भएकाले उपचारमा आउने बिरामी पनि फर्केर सदरमुकाम जाने गरेको स्थानीय गीता शाहीले बताउनुभयो । “भवन जीर्ण भएको र नयाँमा सर्न नपाएकोले बिरामीले गाडी भेटेसम्म सदरमुकाम धाउँछन्”, उहाँले भन्नुभयो, “कसको पहलले भवन सञ्चालनमा आउने होला ?” समयमा भवन चल्न नसके जीर्ण भएर जाने उहाँले चिन्ता व्यक्त गर्नुभयो । गाउँपालिका अध्यक्ष राजु थापाले स्थानीयका घरमा असर नपर्ने गरी बाटो खोलेर स्वास्थ्य चौकी सञ्चालन गर्न छलफल भैरहेको बताउनुभयो । रासस