२०८१ बैशाख २० , बिहिवार

सर्वोच्चले २८ मंसिरमा प्रचण्डविरुद्धको अवहेलना मुद्दाको निर्णय सुनाउने

supreme court

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय सुनाउने भएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष पुरानो मुद्दामा आइतबार निर्णय सुनाउने मिति तोकेको हो । द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा आइतबार दुवैतर्फको बहस सकिएको छ । बहस सकिएपछि इजलासले २८ मंसिरमा निर्णय सुनाउने भनी आदेश दिएको हो । उनीमाथिको आरोप ठहर भएमा अदालतले कैद वा जरिवानाको प्रस्ताव सहित उनलाई माफी माग्ने अवसर दिन सक्नेछ । आरोप पुष्टि नभए निवेदन खारेज हुन्छ ।