२०८१ बैशाख २० , बिहिवार

सभामुख स्वदेश फिर्ता ‘शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु’

sabhamukh dev raj ghimire

सुनाखरी न्युज/ काठमाडौं । सभामुख देवराज घिमिरे सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ ।
आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेको उहाँ नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले भ्रमणका क्रममा दुई देशबीचको संसदीय गतिविधिआदानप्रदानलगायत विषयमा व्यापक छलफल भएको जानकारी दिनुभयो ।

“दुवै मुलुकका संसदबीचको सम्बन्ध गाढा बनाउने विषयमा मैले आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग छलफल गरेको छु” उहाँले भन्नुभयो, “संसद्का कर्मचारीको दक्षता अभिवृद्धि गर्नेबारे पनि हामीले छलफल गरेका छौँ ।”

सभामुख घिमिरेले राष्ट्रपति तथा मन्त्रीहरुरूसँगको भेटले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले लाभ लिन सक्ने वातावरण निर्माण भएको जानकारी दिनुभयो । उहाँले नेपाली विद्यार्थीलाई दिनसक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहित नेपाली जनशक्तिको रोजगारलगायत विषयमा पनि छलफल भएको उहाँको भनाइ थियो । स्वास्थ्य र कृषिमा आयरल्याण्डले विकास गरेका प्रविधि र लगानी नेपाल भित्र्याउनेबारे पनि छलफल भएको सभामुख घिमिरेले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा उहाँले आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्स, संसद्को दुवै सदनका सभामुख र अध्यक्ष, सरकारका वरिष्ठ मन्त्री, नेपाली समुदायलगायतसँग पछि छलफल र भेटघाट गर्नुभएको थियो । उक्त भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनुहुन्थ्यो ।

पत्रकारले शिक्षा विधेयकका सम्बन्धमा भएका विरोध र आन्दोलनबारे सोधेको प्रश्नमा सभामुख घिमिरेले आफूले विधेयकलाई अगाडि बढाउन ‘सभामुखीय भूमिका’ निर्वाह गर्ने बताउनुभयो । “विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका जे हुनुपर्छ, त्यही गर्छु,” उहाँले भन्नुभयो, “विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुग््याउने काम हुन्छ ।”
रासस