२०८१ बैशाख १६ , आइतवार

‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं । दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो ।

दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइलाई साहित्यकार राईले कथामा जीवन्त रुपमा उतार्नुभएको छ । यही कथालाई नै नाटकीरण गरेर रङ्गकर्मी जीवन बरालको निर्देशनमा पहिलो समूहका कलाकारहरूले अभिनय गर्ने भएका छन् ।

कदम थिएटरले गत जेठ २४ गतेदेखि रङ्गमञ्चको आधारभूत कार्यशाला सञ्चालन गरेको थियो । सोही कार्यशालाको अन्त्यमा नाटक ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’को मञ्चन गर्नका लागि पूर्वाभ्यास भइरहको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिनुभयो ।

रङ्गकर्मी बरालले यस कथालाई नाटकको रूपमा रुपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतिलाई छुने गरी तयार पारिएको बताउनुभयो । उहाँले २० वर्षभन्दा धेरै नेपाली रङ्गमञ्चमा काम गर्दै आउनुभएको छ । उहाँले आधा दर्जनभन्दा बढी नाटकको निर्देशन गरिसकको जानकारी दिनुभयो ।रासस