२०८१ बैशाख १६ , आइतवार

ध्यान विज्ञानलाई आत्मसात् गर्न सके जीवनोपयोगी हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

naran kaji shrestha
सुनाखरी न्युज/ काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज आयोजना गरिएको एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको समापन गर्नुहुँदै उहाँले ध्यान र योगाभ्यासले मानिसमा तनाब कम गराउन मद्दत गर्ने बताउनुभयो ।
कार्याशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनेप्रति आभार प्रकट गर्दै उहाँले भन्नुभयो, “ध्यान सजगता हो, होसको स्थिति हो, विधि र प्रक्रियाअनुसार ध्यानको स्थानमा पुग्न सकियो भने यसले जीवन चिन्न र सार्थक तुल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ ।”
उहाँले गृह मन्त्रालयले अब मातहतका निकायमा योगाभ्यास तथा ध्यान अनिवार्य गराउने पनि बताउनुभयो । उहाँले कार्यालय सुरु भएपछि बिहान १५ मिनेट योग, ध्यान गराउने पनि बताउनुभयो । यसअघि आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्याशालाको उद्घाटन गर्नुभएको थियो । बिहान ७ः३० देखि सुरु भएको कार्यशाला साँझमात्रै सकिएको थियो ।
नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले योग र ध्यानलाई तन, मन र वचनका साथ गर्न सक्यौँ भने हामीले गर्ने प्रत्येक कार्यहरूमा खुसी प्राप्त हुने बताउनुभएको थियो ।
कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सहसचिव, उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो ।
रासस