२०८१ जेठ २ , बुधवार

पशुपतिको जलहरीमा अनियमितता भएको अख्तियारको निष्कर्ष

Pashupatinath

सुनाखरी न्युज/ काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा अनियमितता भएको निष्कर्ष निकालेको छ । जलहरी राख्दा मुचुल्का अनुसार जडान नभएको र छानबिन सुरु गरेपछि सुनको पेटी थप्ने काम भएको भन्दै टोलीले  अनियमितता भएको निष्कर्ष निकालेको हो ।

‘इमान्दारितापूर्वक काम भएको थियो भने मुचुल्कामा पछि थपघट गर्नुपर्ने अवस्था थिएन’ अख्तियार उच्च स्रोतले  भन्यो, ‘जहिले छानबिन सुरु हुन्छ वा अनुसन्धान अघि बढ्छ । त्यसपछि कागजात सच्याउने, सुन भेटिने काम भएको छ । त्यसका आधारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो ।’

 

दुई वर्षअघि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको मन्दिर पुगेर सुनको जलहरी राख्न ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए । चौतर्फी विरोधका बावजुद पशुपति क्षेत्र विकास कोषले मन्दिरमा चाँदीको साटो सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।