२०८१ जेठ ४ , शुक्रवार

डलरको भाउले बनायो नयाँ रेकर्ड

dollar

सुनाखरी न्युज/ काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विदुमा पुगेको छ। नेपाल राष्ट्र बेंकको तथ्याँक अनुसार मंगलबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेको छ। यो हालसम्मकै महँगो हो।

 

सोमबार डलरको भाउ १३३ रुपैयाँ ४० पैसा थियो। मंगलबार १४ पैसाले बढेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ५४ पैसा खर्च गर्नुपर्ने भएको छ। अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको छ।भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। यसअघि डलरको भाउ अधिकतम १३३ रुपैयाँ ४४ पैसासम्म मात्रै पुगेको थियो।

 

मंगलबार सो रेकर्डलाई तोडेको हो। डलरको भाउ महंगिदै जाँदा आयात भने झनै महँगो हुने छ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केहि फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदाभन्दा बेफाइदा बढी हुने जानकारहरु बताउछन्।