२०८१ जेठ ८ , मंगलबार

माओवादी केन्द्र नाम फेर्न तयार

maoist

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा माओवादी केन्द्र अन्य कम्युनिष्ट घटकसँग पार्टी एकताका लागि नाम परिवर्तन गर्न तयार देखिएको छ ।

पार्टीको २५ भदौमा बसेको केन्द्रीय कार्यालयको बैठकले छलफलमा रहेका अन्य पार्टीसँगको एकतालाई सफल पार्नका लागि नामको पछाडि कोष्टमा रहेको (माओवादी केन्द्र) को बारेमा आगामी आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय लिन सकिने निर्णय गरेको छ ।

हाल पार्टी रुपान्तरणको तीन महिने अभियानमा रहेको माओवादी केन्द्रले यसलाई तल्ला कमिटीमा पनि छलफल गर्ने उदेश्य राखेको छ । सबै नेता कार्यकर्ताबाट पार्टीको नाम परिवर्तन गरी अन्य पार्टीसँगको एकतालाई सफल तुल्याउन तयार पार्न खोजेको छ ।

माओवादीले तीन महिने अभियान सकिएलगत्तै आगमी मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गत १७ देखि २१ साउनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकबाट गरेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका र त्यहाँबाट सिधै छिमेकी मुलुक चीनको भ्रमणमा निस्कनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टी एकताको उद्देश्यसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपाबीच गत ४ असारमा समाजवादी मोर्चा घोषणा भइसकेको छ । पार्टी एकता गर्ने उदेश्य राखेको उक्त मोर्चाले भर्खरै मात्रै देशका सातवटै प्रदेशमा सन्देश सभा सम्पन्न गरेको छ । हाल उक्त मोर्चाको अध्यक्षता एकीकृत समाजवादीले गरिरहेको छ भने नेतृत्व अध्यक्ष माधव नेपालले गरिरहेका छन् ।

मोर्चा गठन अघि र पछि निरन्तर यी पार्टीहरूबीच एकताका विषयमा छलफल भइरहेको भए पनि टुंगो लाग्न सकेको छैन । माओवादी केन्द्रले उपाध्क्ष कृष्णबहादुर महराको नेतृत्वमा पार्टी एकताको बारेमा वार्ता गर्ने समिति बनाएको छ ।

यसअघि पार्टी प्रवक्ताको जिम्मेवारीमा रहेका उपाध्यक्ष महरालाई हाल पार्टी एकता र समाजवादी मोर्चाको प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।