२०८१ बैशाख २० , बिहिवार

सुन प्रकरणमा २९ जनालाई प्रतिवादी बनाइने

सुनाखरी न्युज/ काठमाडौं ।
६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि मुद्दा दर्ता हुने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

प्रतिवादी बनाइने २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार छन् । यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो । सबै आरोपितमाथि सुन तस्करी गरेकोमा ३ अर्ब ५० करोड २ लाख रुपैयाँ बिगो माग दाबी हुने छ । त्यसमा ब्रेक प्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार बिगो माग दाबी समेत गरेको छ । जस अनुसार कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाछ हुने श्रोतले जनाएको छ ।

प्रहरीले आरोपितमाथि बरामद भएको बाहेक अरु सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्र अनुसार उनीहरुले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । प्रतिवादीहरुलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन र अध्यागमन ऐनअनुसार मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।