२०८१ बैशाख २८ , शुक्रवार

राससमा एकीकृत समाचार सफ्टवेयर र ओएन्डएम सर्वेक्षणबारे छलफल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय समाचार समिति (रासस) को नयाँ एकीकृत समाचार सफ्टवेयर र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) बारे आज आन्तरिक छलफल भएको छ । रासस व्यवस्थापनद्वारा आज आयोजित कर्मचारी–बैठकमा उक्त दुई विषयबारे हालसम्मको प्रगतिबारे प्रस्ततीकरणसहित छलफल भयो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले एकीकृत सफ्टवेयर लागु भएपछि समाचार उत्पादन र सम्पादनमा अनुशासन पालना भई समाचारमा पूर्णता हुने विश्वास व्यक्त गर्नुभयो । राससमा प्रक्रियागत रूपमा ओएन्डएम गराउन पहल गरिने जनाउँदै उहाँले राससका विद्यमान ऐन÷नियमावली संशोधनका लागि सम्बद्ध कर्मचारीको परामर्शमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको र छिट्टै स्वीकृत हुने अपेक्षा व्यक्त गर्नुभयो । अध्यक्ष झाले परिविर्तत सन्दर्भमा अन्य सञ्चारमाध्यमको सञ्चालनमा असहजता देखिएका बेला समाचार समितिमा पेसागत र रोजगारीको सुनिश्चितता रहेको उल्लेख गर्नुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले एकीकृत सफ्टवेयरलाई प्राप्त सुझावका आधारमा चाँडै कार्यान्वयनमा ल्याइने जनाउँदै काममा दायरा फराकिलो भएको स्थितिमा ओएन्डएम अनिवार्य भएको स्पष्ट गर्नुभयो ।

सो अवसरमा (ओएन्डएम) बारे प्रस्तुतीकरण गर्दै नायब महाप्रबन्धक राजु शाक्यले समाचार, अर्थ प्रशासन र सूचना प्रविधि महाशाखाका लागि विद्यमान एक सय ६५ को दरबन्दी अपुग देखिएकाले १९ थप गरी एक सय ८४ कायम गर्न सुझाव दिइएको बताउनुभयो । अर्का नायब महाप्रबन्धक श्यामप्रसाद रिमालले ओएन्डएमपछि राससका समाचार सामग्रीका गुणस्तरीयता र प्रभावकारिता बढ्ने तथा कर्मचारीको वृत्ति विकास पनि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत समाचार सफ्टवेयरका सम्बन्धमा प्रस्तुतीकरण गर्दै नायब महाप्रबन्धक सोमनाथ लामिछानेले समाचार सङ्कलन, नेपाली सम्पादन र अङ्ग्रेजी तथा अन्तर्राष्ट्रिय समाचार सम्पादन कक्षका लागि अलग अलग ड्यासबोर्ड सिर्जना गरी कार्यपद्धतिलाई प्राविधिकरूपमा सरलीकृत गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस केन्द्रीय समिति र रासस कर्मचारी सङ्घ र क्रमशः पवित्रा गुरागाईं, प्रेमप्रसाद उपाध्याय र मनोज लामिछाने ओएन्डएमपछि पनि पुराना कर्मचारीको मनोबल बढ्नुपर्ने बताउँदै संशोधित रासस ऐन÷विनियम छिटो पारित गर्नका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा हरितालिका (तीज) का अवसरमा शुभकामना आदानप्रदान र नाचगान तथा कविता वाचन गरिएको थियो ।
रासस