२०८१ बैशाख १५ , शनिवार

शारीरिक रुपमा अशक्त बालबालिकालाई छुट्टाछुट्टै पढ्ने व्यवस्था

bharatpur mahanagar

सुनाखरी न्युज/ काठमाडौं ।
नेपालको संविधानले हरेक बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको भए पनि अझै शारीरिक रुपमा अशक्त बालबालिका विद्यालयबाहिर नै छन् । यसलाई दृष्टिगत गर्दै भरतपुर महानगरपालिकाले शारीरिक रुपमा अशक्त भएका बालकालिकाहरुका लागि छु््ट्टाछुट्टै पठनपाठनको व्यवस्था गर्दै आएको छ ।

कानुन र नीतिमा अपाङ्गता भएका बालबालिकालाई अलग्गै कक्षा कोठामा छुट्याएर राख्नुपर्ने व्यवस्था छ । सोहीअनुसार महानगरपालिकाले कामको सुरुआत गरेको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । गत वर्ष अटिज्म भएका बालबालिकाहरुका लागि छुट्टै व्यवस्था गरेको महानगरपालिकाले यस वर्षदेखि मस्तिष्क पक्षघात भएका बालबालिकालाई लक्षित गर्दै स्रोत केन्द्र स्थापना गरेको छ ।

वडा नं २६ स्थित दिव्यनगरमा रहेको आदर्श माविमा मस्तिष्क पक्षघात स्रोत कक्ष स्थापना गरिएको हो । यहाँ अहिले १० जना भर्ना भएका छन् । महानगरपालिकाले एकजना तालिम प्राप्त थेरापी शिक्षकसमेत नियुक्त गरेको छ । बालबालिकालाई विभिन्न थेरापीमार्फत क्रियाकलापहरु सिकाउने गरिएको शिक्षक हरिकला भुसालले जानकारी दिनुभयो ।

स्रोत केन्द्रले मस्तिष्क पक्षघात भएकाहरुलाई शारीरिक व्यायाम, दैनिक नित्यकर्म, खेलकुद तथा अन्य ज्ञान सिकाउने गर्दछ । बालबालिकाको दैनिक क्रियाकलापमा जोड दिँदै आएको उहाँले बताउनुभयो । पक्षघातका लागि अभिभावक स्वावलम्ब समूह भरतपुरका अध्यक्ष लक्ष्मीकान्त घिमिरे यस्ता बालकालिका विद्यालयबाहिर बढी रहेको बताउनुभयो । अभिभावकहरुले नै उनीहरुलाई विद्यालयमा पठाउन नचाहने गरेको उहाँले बताउनुभयो । महानगरपालिकामा ६५ जना मस्तिष्क पक्षघात बालबालिका रहेको घिमिरेले जानकारी दिनुभयो । विद्यालयहरुले समावेशी शिक्षा दिनसक्ने गरी शिक्षकको व्यवस्था नहुँदा धेरै बालबालिका विद्यालयबाहिर भएको अनुमान गरिन्छ ।

अपाङ्गता भएका बालबालिकाको सिकाइ विधि नै फरक हुन्छ । नेत्रहीन, बहिरा व्यक्ति, सुस्त श्रवण भएका, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सिकाइ फरक हुन्छ । सोही अनुसार महानगरपालिकाभित्र चार विद्यालयमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई राखेर पढाइ हुन्छ । त्यस्तै अटिज्म, बहिरा, नेत्रहीन, सुस्तमनस्थितिका बालकालिकालाई छुट्टाछुट्टै पढाइ सञ्चालन गरेको पौडेलले बताउनुभयो ।

वडा नं १० मा पनि विगतमा बालमन्दिर अटिज्म विद्यालय सञ्चालनमा छ । महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन अटिज्म विद्यालय स्थापना गरेको थियो । राष्ट्रिय शिक्षा नीति २०७६ मा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँचको सुनिश्चिता गरी शिक्षाका माध्यमबाट मर्यादित जीवनयापन गर्नसमक्ष र प्रतिस्पर्धी नागरिक तयार गर्ने विषय उल्लेख गरिएको छ ।

चितवनका १४ विद्यालयले अपाङ्गता भएका बालबालिकाहरुलाई पढाउँदै आएको छ । यी विद्यालयमा दुई सय ६० विद्यार्थी छन् । जटिल खालका अपाङ्गता भएका बालबालिका न्यून छन् । विद्यालयबाहिर रहेका बालबालिकालाई अपाङ्गताको प्रकार छुट्टै पढ्ने व्यवस्थाका लागि काम गरिरहेको पौडेलले बताउनुभयो । गत वर्ष समावेशी शिक्षा परियोजनामार्फत सङ्कलन गरिएको तथ्याङ्कले भरतपुर महानगरमा ७८ बालबालिका अघिल्लो वर्ष विद्यालय बाहिर रहेको देखाएको थियो । यस वर्ष बालबालिकालाई समेट्ने काम भएको पौडेलले जानकारी दिनुभयो ।
रासस