२०८१ बैशाख २४ , सोमवार

एसियाली खेलकुदमा आत्मविश्वासी खेलाडी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
एशिया महादेशको सर्वोच्च प्रतियोगिता हो, एसियाली खेलकुद । यसलाई एसियाड पनि भन्ने गरिन्छ । छिमेकी मुलुक चीनको हाङझावमा आगामी असोज ६ देखि २१ गतेसम्म एसियाडको १९ औँ संस्करण हुँदैछ ।

यसपटकको एसियाडमा नेपालले २९ खेलमा भाग लिएको उक्त प्रतियोगितामा एक सय २७ महिला र एक सय २६ पुरुष गरी दुई सय ५३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई सरकारले बिहीबार औपचारिक बिदाइसमेत गरेको छ ।

प्रतियोगिताका लागि पोखरामा चार खेलको बन्द प्रशिक्षण सञ्चालन भयो भने अन्य खेलका लागि राजधानी काठमाडौँ तथा देश बाहिर पनि प्रशिक्षण गरिएको थियो । महिला ह्याण्डबल, पुरुष रग्बी, आर्चरी र भारत्तोलन खेलका खेलाडीले पोखरामा दुई महिना प्रशिक्षण गरेका हुन् ।

प्रतियोगिताका लागि नेपाली खेलाडी उत्साहित र आत्मविश्वासी देखिएका छन् । नेपालले सुरुआतदेखिनै उक्त प्रतियोगितामा सहभागिता जनाउँदै आएकाले खेलाडीका लागि प्रतियोगिता नौलो रहेन । एशिया महादेशका ठूला र सम्पन्न राष्ट्रबीचको प्रतिस्पर्धामा नेपालले त्यति ठूलो सफलताको आस नगरेपनि विगतका तुलनामा राम्रो गर्नेमा खेलाडी आशावादी छन् । प्रदर्शन सुधार हुने र बलियो चुनौती पेश गरिनेमा खेलाडी दृढ छन् । विगतको भन्दा केही राम्रो गर्नेमा उनीहरु विश्वस्त देखिएका हुन् । नेपालले प्रतियोगितामा अहिलेसम्म स्वर्ण पदक जित्न नसके पनि रजत र कास्य पदकमा सीमित हुँदै आएको छ ।

नेपाली महिला ह्याण्डबल टोलीका उपकप्तान उमा राईले एसियाडका लागि टोलीका सबै सदस्य उत्साहित रहेको बताउनुभयो । महिला ह्याण्डबलले पहिलोपटक एसियाडमा ‘डेब्यु’ गर्दैछ । पदकको सपना देखेर खेलाडी मैदानमा उत्रिने उहाँको भनाइ थियो । प्रतियोगिता पदकका लागि हुने भए पनि पहिलो सहभागिता र अन्य देश बलियो रहेकाले आफूहरुले सक्दो मिहिनेत गरेर राम्रो प्रदर्शन गर्ने उपकप्तान राईले जानकारी दिनुभयो ।

“मेडल ल्याउने कोसिस गर्नेछाँै, नसके पनि प्रदर्शन राम्रो गर्दै राम्रो स्थान हासिल गर्नेछौँ । सबै जनाले आफ्नो तर्फबाट कोसिस गरेर राम्रो परिणाम ल्याउनेमा आशा गरेका छौैँ”, उहाँले भन्नुभयो । कतिपय खेलाडीले यस प्रतियोगितालाई ओलम्पिकसँग समेत तुलना गरेका छन् ।

ओलम्पिकका कतिपय खेलमा एशियाली मुलुकले उपाधि जितेकाले त्यही स्तरको देशसँग एसियाडमा खेल्न पाउँदा ओलम्पिकमा प्रतिस्पर्धा गरेको अनुभूति हुने आर्चरीका खेलाडी योगेन्द्र शेरचनले बताउनुभयो ।

उहाँ एसियाडमा आर्चरीको ‘कम्पाउण्ड’ विधामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसपटकको लक्ष्य सेमिफाइनलमा स्थान बनाउने र पदक पनि जित्ने रहेको शेरचनको भनाइ थियो । उहाँले भन्नुभयो, “ओलम्पिकमा एशियाली देशनै सेमिफाइनल पुग्ने गरेकाले एसियाडमा पनि ओलम्पिकजस्तै लागेको छ । हामीले प्रतियोगितामा कडा मिहिनेत गर्नेछौँ, खेलप्रेमी नेपालीलाई खुसी बनाउनेछौँ ।”

महिला राष्ट्रिय ह्याण्डबल टोलीका प्रशिक्षक विन्दा थापाले आफ्नो टोलीका सबै खेलाडी एशियाडका लागि उत्साहित रहेको उल्लेख गर्नुभयो । पोखराका दुई महिना लामो बन्द प्रशिक्षणले उत्साह थपेको उहाँको भनाइ थियो । महिला ह्याण्डबल टोलीलाई बिहीबार पोखराबाट बिदाइ गरिएको थियो । प्रतियोगिताका लागि टोली काठमाडौँ प्रस्थान गरेको छ ।

प्रतियोगितामा पहिलो पटकको सहभागिताले खेलाडी उत्साहित भएको र नेपाली महिला ह्याण्डबल अन्तर्राष्ट्रिय खेलकुदमा प्रवेश गर्नु ठूलो अवसर रहेको प्रशिक्षक थापाको भनाइ थियो । “एसियाडका लागि हाम्रो सम्पूर्ण टोली उत्साहित छ । सबैले राम्रो गर्ने सङ्कल्प गरेकाले आशा गरौँ, हामीले सबैलाई खुसी दिन सफल हुनेछौँ ।”
रासस