२०८१ बैशाख २० , बिहिवार

सुनसान छन चितवनका सुनचाँदी पसल

gold1

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली महिलाहरुको महान चाड तीज नजिकिएपनि चितवनका सुनचाँदी पसलहरु सुनसान जस्तै छन । सडकमा मानिसहरु हिंडेपनि पसलमा ग्राहक छैनन । तीजमा सुनका गरगहना, साडी, तथा मिठो मसिनो खाने परम्परा भएपनि पछिल्ला बर्षमा यस संस्कृतिमा ह्वात्तै कमी आएको छ ।

कोरोनापछिको असरले चरम आर्थिक संकट पैदा भई क्रयशत्तिमा ह्रास आउँदा यसको प्रत्यक्ष असर सुनचाँदी व्यवसायमा पनि परेको हो । हुनत बजारमा खाद्यान्न, कपडा तथा अन्य उपभोग्य बस्तुहरुको पनि बिक्री छैन । तीजमा व्यवसायमा केही सुधार हुने आश भएपनि ग्राहक नआउँदा व्यवसायी निराश भएका छन । आर्थिकमन्दीको कारण सुनचाँदी व्यवसायमा ७५ प्रतिशत बढी ह्रास आएको स्वयं सुनचाँदी व्यवसायीनै बताउँछन ।

देशमा गहना लगाउने लक्षित युवावर्गनै विदेश पलायन भएको कारण पनि यो समस्या आउने गरेको उनको भनाई छ । सुनचाँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष एवं चित्रकला सुनचाँदी पसलका सञ्चालक उत्सव खाती निराशनै हुने खालको समस्या सुुनचाँदी व्यवसायमा नआएको बताउँछन । ‘फाट्टफुट्त बिक्री त छ , एकदमै कम परिमाण कम मुल्यका गहनामा छ । अघिल्ला बर्षहरुमा हामी व्यवसायी जति तीजको रौनक र बिक्री बढ्थ्यो अहिले त्यो अवस्था छैन । तीज आएपनि अन्य समयमा जस्तै सामान्य रुपमा गहना बिक्री हुने गरेको छैन ।’ खातीले भने ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामु यस्तो मन्दी र सुनसान अवस्था आफ्नो व्यवसायिक जीवनमा कहिल्यै थाहा नपाएको बताउँछन ।

हाल नारायणगढका बजार र सडकमा मानिसहरु ओहोर दोहोर देखिएपनि किन्न ग्राहक भने औंलामा गन्ने मात्र भएको उनले बताए । ‘अहिले हिड्ने ग्राहक मात्र छन ।, किन्ने ग्राहक छैनन, उनले भने, अहिले किन्ने ग्राहक त परै जाओस सोध्ने ग्राहक पनि छैनन ।’ सुनचाँदी व्यवसायमा बृद्धि भएको कर, व्यवसाय गाउँ केन्द्रित हुनु, सुनचाँदीको भाउ बढ्दै जानु, क्रयशत्तिमा कम हुनु र नारायणगढको मुख्य सडक महिनौंसम्म मर्मत नहुँदा पनि यसको व्यापक असर सुनचाँदी व्यवसायमा परेको रामुदामुको भनाई छ । चितवनमा संघमा मात्र आवद्ध पांँचसय को हाराहारीमा सुनचाँदी पसल सञ्चालनमा छन ।