२०८१ बैशाख १५ , शनिवार

‘विद्यार्थीको उत्कृष्ट आविष्कारलाई प्रोत्साहन गरिनुपर्छ’

school

सुनाखरी न्युज/ काठमाडौं ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको कुशादेवीस्थित कुशादेवी माध्यमिक विद्यालयले आयोजना गरेको नगरस्तरीय विज्ञान प्रदर्शनीमा नगरका चार सय ५० विद्यार्थीले आफ्ना ‘आविष्कार’ प्रदर्शनी गरेका छन् । विज्ञानका विषयमा विद्यार्थीप्रति रुचि एवं आकर्षण बढाउन उक्त विद्यालयले आफ्नो प्राङ्गणमा बुधबार वृहत प्रदर्शनीको आयोजना गरेको थियो ।

विज्ञान प्रदर्शनीमा दुई हजारभन्दा धेरैले प्रदर्शनीको अवलोकन गरेको जनाइएको छ । विद्यार्थीको हौसला बढाउन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन सहभागी भएर विद्यार्थीको उत्कृष्ट आविष्कारलाई वृहत् रुपमा उत्पादन गर्ने हिसाबले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले विद्यार्थीलाई मेहनती र अध्ययनशील बनाउने विद्यालयले यस्ता प्रकारका प्रदर्शनी गर्ने उल्लेख गर्दै सहभागी विद्यार्थीलाई हौसलासमेत प्रदान गर्नुभयो । पुण्य मावि पनौतीको कक्षा ९ मा अध्ययरत विद्यार्थी बिमल बस्नेतले प्रदर्शनीमा गोबर, तामाको पाता र जस्तापाताबाट बिजुली उत्पादन हुृन्छ भन्ने उदाहरण पुष्टि गरिदिए । उहाँले बिजुली उत्पादन गरेर त्यसबाट भित्ते घडी चलाएर आफ्नो कला प्रदर्शन गर्नुभयो ।

कक्षा ९ र १० को पाठ्यक्रममा ऊर्जा उत्पादनबारे मौखिक सिकाई गरेपनि प्रयोगात्मक रुपमा आफैँले निर्माण गर्न पाउँदा निक्कै खुसी लागेको उहाँले बताउनुभयो ।
यस्तै सोही विद्यालयका हेमन्त सापकोटाले ‘को बन्छ करोडपती ?’ कार्यक्रममा झैँ प्राकृतिक रुपमा मानवको दिमागको परीक्षण गर्ने ‘मेसिन’ बनाउनुभएको थियो । मेसिनमा रहेका प्रश्नको सही उत्तरमा हरियो र गलत उत्तरमा रातो बत्ती बलेको क्रियाकलाप प्रदर्शनी पुगेका धेरैले चाख मानेर हेरिरहेका देखिन्थे । “हामीले मेसिनलाई अझ सुधार गर्दै जानेछौँ, यसले कम्प्लिट्ली एन्सर देओस्” हेमन्तले साथीहरुको चाहनासमेत व्यक्त गर्नुभयो ।

पुण्य माविका उहाँ विद्यार्थी मात्रै होइन, पनौती नगरमा रहेका कुशादेवी मावि, बाल आर्दश मावि, शान्ति निकेतन मावि, गोरखनाथ आधारभूत, भालेश्वर मावि, वाल प्रकाश मावि, ईन्द्रेश्वर मावि, कमलादेवी जनप्रिय मावि, पनौती आधारभूत र फुल्चोकी आधारभूत विद्यालयका विद्यार्थीले समूहगत रुपमा आफ्नो सिर्जना सोही प्रदर्शनीमा प्रस्तुत गरेका हुन् ।

त्यस्तै विद्याथर््ी सिवानी सापकोटा र कृपा ढुङ्गानाको ‘म्याजिक बक्क’ पनि निक्कैको चाखलाग्दो विषय बन्यो । पानी तान्ने मेसिनको स्वचालित ‘अन–अफ’देखि केबलकारसम्म निर्माण गरी विद्यार्थीले आ–आफ्ना सिर्जनशिलता प्रदर्शन गरेका थिए । पनौती नगरमा यस्तो प्रकारको वृहत प्रदर्शनी पहिलो पटक आयोजना गरिएको बताइयो । फ्रिडम टु लर्न युकेको सहयोगमा स्थानीय ग्रामीण सामुदायिक सङ्गठन र पनौती नगरपालिकाको आयोजनामा भएको कार्यक्रम निक्कै प्रभावकारी देखियो ।

सङ्गठका कार्यकारी निर्देशक एव कुशादेवी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थापाले पनौतीमा शैक्षिक विकासमा केही नविनतम् योगदान होस भन्ने उद्देश्यले विज्ञान प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

“विषयगत सिकाइका लागि प्रयोगात्मक प्रतिस्पर्धा निकै उपलब्धिमूलक भएको पाइयो”, उहाँले भन्नुभयो ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पाठ्याक्रमका सुनेका विषयलाई विद्यार्थीले व्यवहारमा सिर्जनात्मकतामा उतारेकोमा पनौती नगरका पूर्व प्रमुख भीम न्यौपानेले खुसी व्यक्त गर्नुभयो । काठमाडौंँ विश्वविद्यालय स्कुल अफ साइन्सका डिन मनोज हुमागार्इंले यस्ता प्रदर्शनीले विद्यार्थीमा खोजपूर्ण अध्ययनमा रुचि बढाउने भएकाले विषयगत प्रदर्शनी गर्न सुझाव दिनुभयो । कार्यक्रममा पनौती नगरका जनप्रतिनिधि तथा कर्मचारी, शिक्षक, विद्यार्थीलगायत स्थानीय शैक्षिक अगुवाको सहभागिता रहेको थियो ।
रासस