२०८१ बैशाख २१ , शुक्रवार

उपभोक्ता ठगिने अवस्थाको अन्त्य हुन सकेन : कानुनमन्त्री गुरुङ

dhanraj

सुनाखरी न्युज/ काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उपभोक्ता ठगीने अवस्थाको अन्त्य हुन नसकेको बताउनुभएको छ ।

 

नेपाली उपभोक्ता संरक्षण महासङ्घको दोस्रो साधरणसभाको आज उद्घाटन गर्दै उहाँले जति बजार अनुगमन गरे पनि नेपाली उपभोक्ता सधैँ ठगिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले चाँडै धनी बन्ने अभिलाषा बोकेर व्यापार गर्दा उपभोक्ता ठगीमा परेको बताउनुभयो । ठगी गर्ने व्यापारीलाई सरकारले कारबाही गर्ने मन्त्री गुरुङको भनाइ थियो । उहाँले शुद्ध मन नभएसम्म सुधार हुन नसक्ने तर्क गर्नुभयो ।

 

कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्र साउदले उपभोक्ता संरक्षण महासङ्घ राष्ट्रिय प्रकृतिको संस्था भएकाले राष्ट्रिय ऐनमा दर्ता गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले महासङ्घलाई सम्बन्धित सबै निकायमा अनिवार्य प्रतिनिधित्वसहित अधिकार सम्पन्न बजार अनुगमन तथा कानुनी दायरामा ल्याउन सक्ने अधिकार सम्पन्न छुट्टै संयन्त्र गठन गर्न सहयोग गर्न सरकासँग आग्रह गर्नुभयो । रासस