२०८१ बैशाख २४ , सोमवार

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

cabinet

सुनाखरी न्युज/ काठमाडौं । सरकारले राजकीय सम्मानका साथ दिवगंत नेता सुवास नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिए।

 

अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ। हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो। २०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए।

 

पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए। नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो। ०५४ सालमा एमालेका केन्द्रीय कमिटी सदस्य भएका नेम्वाङ २०७८ मंसिरमा चितवनको सौराहमा भएको पार्टीको दशौं महाधिवशेनबाट उपाध्यक्ष चयन भएका थिए। एमालेका धेरै नेताहरू उनको अभिभावकीय भूमिकाको स्मरण गर्छन्। नेम्वाङका दुबै छोरा विदेशमा भएकाले उनको अन्तिम संस्कार बुधबार अपराह्नमात्रै गरिने एमालेले जनाएको छ।