२०८१ बैशाख ३० , आइतवार

उत्पादनलाई पर्यटन सङ्ग जोड्यौ भने मुलुक अगाडि बढ्छः धनराज गुरुङ

Capture

सुनाखरी न्युज/ पोखरा । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन सङ्ग जोडियो भने मुलुकको विकास हुने बताएका छन् ।

सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको भनाई उनको छ । तीजलाई स्थानीय उत्पादनसङ्ग जोड्ने प्रयास सह्रानिय भएको उनले उल्लेख गरे । ‘तीज पर्वलाई केवल रमाइलो पर्वका रुपमा भन्दा पनि स्थानीय उत्पादन सङ्ग पनि जोड्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको रहेछ, खुशी लाग्यो । पर्यटन विकासको आधार नै अब स्थानीय उत्पादन हो’,उनले भने ।

तीजमा विकृति आए पनि यसको सुधार हुनुपर्ने विषयलाई उनले औंल्याए । महिला दिदीबहिनी पुरुषको बैशाखी नभई मुलुककै नेतृत्व गर्ने बाटोमा अग्रसर हुनुपर्ने उनले बताए । पुरुष पानी माथिको ओभानो भएर समाज परिवर्तन नहुने तर्क उनको छ । बद्लिएको समाजमा नबद्लिएको विषय बदल्नुपर्ने आवश्यक्ता रहेको उनले बताए । गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज सांस्कृतिक महोत्सवले जोडेको बताइन । विविध समस्याले जगडेको पर्यटनलाई माथि उठाउन सांस्कृतिक कार्यक्रम मार्फत दिदीबहिनी लागेको देख्दा खुशी लागेको अभिव्यक्ती उनको छ । यस्ता कार्यक्रमले गाउँगाउँका उत्पादनलाई बजारसङ्ग जोड्न मदत पुग्ने भनाई उनको छ ।

पर्यटन परिषदका महासचिव संजयकान्त सिग्देलले पोखराको पर्यटन विकासमा सबै पक्ष एक भएर लाग्नुपर्ने उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय विमान स्थल निर्माण भएता पनि उडान हुन नसक्नु दुर्भाग्य भएको उनले बताए । छिमेकी राष्ट्र सङ्गको समन्वयमा छिटो भन्दा छिटो अन्तर्राष्ट्रिय उडान गर्न सके पर्यटन क्षेत्रमा सुधार हुने भनाइ उनको छ । पोखरा देखि मुग्लिनसम्मको सडक निर्माणमा ढिलाई हुँदा यहाँका पर्यटन व्यवसायी मर्कामा परेको उनले बताए । सरकारले नै इनिसियसन लिएर फास्ट ट्रयाकमा काम गर्नुपर्ने वातावरण मिलाउनु पर्ने आवश्यक्तालाई उनले औंल्याएका छन । २०३५ सालको पर्यटन ऐन संशोधन गरि नयाँ पर्यटन ऐन ल्याउनुपर्ने उनले बताए ।

पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णु भट्टराईले तीज पर्वमा मौलिकताको खांचो भएको बताए । मौलिकता जोगाउन आयोजना गरिएको तीज सांस्कृतिक महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनले लिएका छन् । टेवानकी अध्यक्ष कमला गिरीले पहिलो संस्करणको कार्यक्रम भएकाले कमीकमजोरी हुन सक्ने र आगामी दिनमा सुधार गर्दै लैजाने बताइन । भदौ २५ देखि २७ गते सम्म कोमागाने पार्क लेकसाइडमा हुने तीज सांस्कृतिक महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद लगायत पर्यटन सम्बद्ध संघ संस्थाहरुको सहयोग प्राप्त भएको जानकारी गराइन ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पंगेनी, कास्की अध्यक्ष विमला भण्डारी लगायतले बोलेको कार्यक्रममा प्रभातफेरी र्यालीको समेत आयोजना गरिएको थियो । जहाँ गण्डकी प्रदेशका महिलाहरुको बाक्लो सहभागिता देखिन्थ्यो । सांस्कृतिक महोत्सवमा प्रदेशका विभिन्न जिल्लाबाट आएका स्थानीय उत्पादनको प्रदर्शन गरिएको छ ।