२०८१ बैशाख ३१ , सोमवार

नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिइने

shankar pokharel

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच आज भेटवार्ता भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा रहनुभएका महासचिव पोखरेलको आज सिपिसीका विदेश विभाग प्रमुख लिउ जियनचाओबीच बेइजिङमा भेटवार्ता भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

सो अवसरमा महासचिव पोखरेलले आफूहरु एक चीनको पक्षमा दृढ रहेको उल्लेख गर्दै चीनविरोधी गतिविधि नेपालको भूमिबाट हुन नदिने बताउनुभयो ।

महासचिव पोखरेलले एमाले असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको बताउनुभयो । उहाँले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच भएका सहमति कार्यान्वयनको पक्षमा एमाले रहेको भनाइ राख्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध घनिष्ठ र समुधुर रहेको उल्लेख गर्दै यस सम्बन्धलाई नयाँ उचाइमा लैजान चाहेको बताउनुभयो ।

उहाँले नेपाल भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएका सहमति कार्यन्वयनका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । विदेश विभाग प्रमुख लिउ जियनचाओले चीन सधँै शान्ति, विकास र समृद्धिको पक्षमा रहँदै आएको स्पष्ट पार्नुभयो । रासस