२०८१ बैशाख २६ , बुधवार

मस्तिष्कघात भएर अपाङ्गता भएका बालबालिकालाई स्रोत कक्षा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
भरतपुर महानगरपालिकाले मस्तिष्कघात भएर हिँडडुल गर्न र बोल्न नसक्ने बालबालिकाका लागि स्रोत कक्षाको सुरुवात गरेको छ ।

भरतपुर–२६ दिव्यनगरमा रहेको आदर्श माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा उक्त स्रोत कक्षाको आइतबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख दाहालले महानगरपालिकाले शिक्षाको पहुँचमा सबै बालबालिकालाई पु¥याउन ‘अटिज्म’ विद्यालय स्थापना गरेको बताउनुभयो ।

उहाँका अनुसार आर्दश माविकै क्षेत्रमा रहेको भवनलाई रङरोगन गरी अन्य मस्तिष्कघात भएर अपाङ्गता भएका बालबालिकाका लागि स्रोत केन्द्र सञ्चालनमा ल्याइएको हो । विद्यालयमा निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकारलाई मध्यनजर गर्दै महानगरले सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन लक्ष्य लिएको जनाउँदै उहाँले भन्नुभयो, “यो स्रोत केन्द्रलाई आवश्यकपर्ने थप स्रोतसाधन महानगरपालिकाले आगामी दिनमा उपलब्ध गराउँदै जान्छ ।”

शैक्षिक क्षेत्रमा विकास गरेकै कारण पाँच वर्षअघि विद्यार्थीको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको आदर्श माविमा अहिले विद्यार्थीको सङ्ख्या बढेर सात सयको हाराहारीमा पुगेको छ । त्यस कारण आज यस विद्ययालयमा आउँदा आफूलाई विश्वविद्यालय वा क्याम्पसमै आएको सरह अनुभूति हुने उहाँले बताउनुभयो ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलले संविधानले प्रत्याभूत गरेको अपाङ्गता भएका बालबालिकाको उचित शिक्षा प्राप्त गर्ने अधिकारलाई सम्मान गर्दै महानगरले सबै बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्न प्रयत्न गर्दै आएको बताउनुभयो ।

विगत दुई वर्षदेखि अभिभावककै पहलमा सो विद्यालय सञ्चालन हुँदै आएको जानकारी दिनुभयो । उहाँले विगत दुई वर्षदेखि पीडित अभिभावककै पहलमा सञ्चालन हुँदै आएको मस्तिष्क पक्षघात स्रोत कक्षाका बारेमा महानगरपालिकालाई थाहा भए पश्चात महानगरले आदर्श विद्यालयको सूचना केन्द्र रहेको उक्त भवनमा रङ्गरोगन गरी आवश्यक पर्ने पूर्वाधार, कक्षाकोठा, शौचालयलगायतको व्यवस्थापन गरेर स्रोत कक्षा सञ्चालनमा आएको पौडेलले बताउनुभयो ।

उहाँले यस स्रोत कक्षामा विशेष प्रकारको थेरापी गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “कठिन अवस्था भएको मस्तिष्कघात भएका बालबालिकालाई विशेष प्रकारको थेरापी गराउँदै दैनिक क्रियाकलापका बारेमा सिकाउँदै जानेछौँ ।” मस्तिष्कघातका लागि अभिभावक स्वावलम्बन समूह भरतपुर–२६ का अध्यक्ष लक्ष्मीकान्त घिमिरेले स्रोत कक्षामा १० जना अटिज्म भएका बालबालिका रहेको बताउनुभयो । उहाँले महानगरभित्र ६५ जना मस्तिष्क पक्षघात भएका बालबालिका रहेको जानकारी दिनुभयो ।

स्रोत केन्द्रकी स्रोत शिक्षिका हरिकला भुसालले आफू पनि एक पक्षघात बच्चाको अभिभावक भएकाले बच्चाको हेरचाहबारे जानकारी लिन देशका विभिन्न ठाउँमा यससम्बन्धी कार्यक्रममा सहभागी भएको बताउनुभयो ।

उहाँका अनुसार यस केन्द्रमा बच्चाको क्षमता अनुसार उनीहरुलाई दैनिक क्रियाकलाप गर्न लगाइन्छ । साथैै पढ्न चाहने बच्चालाई पनि उनीहरुको बौद्धिक क्षमताका आधारमा गीतबाट पढ्न सिकाइन्छ । आफूहरुको लक्ष्य चितवनलगायत सबै क्षेत्रका बालबालिकालाई समेट्ने भए पनि यातायातको व्यवस्था नहुँदा निकै कठिन भएको भुसालले गुनासो गर्नुभयो । यसअघि भरतपुर–१० बालमन्दिर रोडमा अटिज्म विद्यालय सञ्चालनमा ल्याइएको थियो । रासस