२०८१ बैशाख ३० , आइतवार

वीपीको विचारमा न्याय र रुपान्तरण छ : सहमहामन्त्री उपाध्याय

1694409438_dina makwanpur-1200×560-1200×560

सुनाखरी न्युज / काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ( डिना) ले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताउनुभएको छ । मुलुकमा ऐतिहासिक परिवर्तन र न्यायका लागि दूरदर्शी नेता वीपीका विचार निर्णायक भूमिकामा भएको स्पष्ट पार्नुभयो । आइतबार ११०औँ वीपी जयन्तीका अवसरमा ताप्लेजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको राजनीतिक आन्दोलन र ऐतिहासिक परिवर्तनमा वीपीको योगदान अतुलनीय रहेको तथा उहाँकै विचार र व्यवहारले मुलुक र जनताले न्याय प्राप्त गरको दाबी गर्नुभयो ।

“विभिन्न ऐतिहासिक परिवर्तनसँगै यतिबेला जनताले न्यायको अनुभव गरेका छन्, जनताकै शासन आएको छ, हामीले देखेको भोगेको उल्लेखनीय परिवर्तन दूरदर्शी नेता वीपीकै उत्कृष्ट विचारको परिणाम हो”, सहमहामन्त्री उपाध्यायले भन्नुभयो । वीपीको विचारलाई अनुसरण गर्न भविष्यमा पनि उत्तिकै सान्र्दभिक हुने उहाँले बताउनुभयो । वीपीका विचार र व्यवहारका प्रभाव युगौँ युगसम्म रहने उल्लेख गर्दै उहाँले पार्टीले उहाँका विचार र सिद्धान्तलाई भुल्न नहुने बताउनुभयो ।

पार्टीका नेता महेन्द्र यादवमाथि भएको आक्रमणका साथै कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गाममाथि प्रहरीद्वारा भएको दुव्र्यवहारप्रति सहमहामन्त्री उपाध्यायले गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । कार्यक्रममा नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष उषा राउत मिश्र, सांसद लीलादेवी बोखिम, पार्टीका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।रासस