२०८१ बैशाख २२ , शनिवार

हाथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

IPO

सुनाखरी न्युज/ काठमाडौं ।हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणका लागि भदौ २१ गतेदेखि प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (भदौ २५ गते) अन्तिम दिन रहेको छ।

 

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

 

त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 

हाथवे इन्भेष्टमेन्टले नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा २०६५ चैत १४ गते दर्ता भई सोही मितिदेखि आफ्नो कारोबार सञ्चालन गर्दै आएको छ। नेपालका ख्याती प्राप्त युवा व्यवसायी, यद्यमी, चार्टर्ड एकाउन्टेन्ट, अन्य प्रोफेसनल लगायतका प्रबुद्ध व्यक्तिहरुको समूहद्वारा संस्थापित र सञ्चालित यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरुमा आफ्नो लगानी गरी आफुलाई एक सफल कम्पनीको रुपमा उभ्याउन सफल भएको छ। कम्पनीले पूँजीबजारका अतिरिक्त जलविद्युत, रियल इस्टेट, आर्थिक, पर्यटन र स्वःपूँजीको क्षेत्रमा आफ्ना लगानीलाई विस्तार र विविधिकरण गरी मुलुकको आर्थिक विकासमा योजना पुर्याउँदै आएको छ।