२०८१ बैशाख २२ , शनिवार

एनआरएनए चुनावमा नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिए तीन प्यानल

nrn

सुनाखरी न्युज/ बार्सिलोना ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

अध्यक्षकै प्रतिस्पर्धामा वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उप–महासचिव विनय अधिकारी पनि देखिएका छन् । यसरी नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी पर्ने सम्भावना भए पनि मुख्य प्रतिस्पर्धा भने त्रिपक्षीय प्यानलमा हुने निश्चित जस्तै देखिएको छ ।

 

तीन ठूला राजनीतिक दलका प्रवासस्थित संगठनहरूले आ–आफ्ना उम्मेदवारहरूलाई जिताउन लविइङ सुरु गरिसकेका छन् । नेपाली जनसम्पर्क समितिले श्रेष्ठलाई, प्रवासी नेपाली मञ्चले डा।केसीलाई र नेपाली जनप्रगतिशील मञ्च शर्माको पक्षमा उभिएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने क्रममा पनि यी संगठनहरूले प्रभाव पारेको आरोप छ ।

नेताहरूको आलोचना गर्न माहिर एनआरएनएहरूको कार्यशैली पनि उस्तै रहेको भन्दै संघका उपाध्यक्ष डा। हेमराज शर्माले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । महाधिवेशन प्रतिनिधि चयनका क्रममा आफू निकट, परिवार र नजिकका नातेदार छानेको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।