२०८१ बैशाख २२ , शनिवार

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा, यस्ता छन माग

tia

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले सोमबारबाट भन्सार जाँचपास नगर्ने भएका छन् । विभिन्न मागहरु राख्दै उनीहरुले विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उनीहरुले यस अघि सामुहिक सरुवा माग गरेकोमा सम्बोधन नभएको भन्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । जस अनुसार भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने कर्मचारीको तयारी छ । मागहरु सम्बोधन नभएमा भदौ २६ बाट कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी कर्मचारीहरुले दिएका छन् ।

भन्सार ऐन, २०६४ को दफा ६६ बमोजिम “कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्य पालनको शिलशिलामा असल नियतले गरेको कामकारवाही प्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुनेछैन ।” भन्ने स्पष्ट व्यवस्था रहेकोमा सो को पालना नभएको उनीहरुको भनाई छ ।

देशको राजस्व असूलीको लागि अहोरात्र खटिई कानुनबमोजिम असल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी कर्मचारीहरुको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्याउने गरी विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द हुनु पर्ने माग कर्मचारीहरुले राखेका छन् । कार्य वातावरण झनै विग्रदै गएको कर्मचारीहरुको भनाई छ ।

कर्मचारीहरुले निम्न माग राखेका छन् :

१. कार्यलयमा राजस्व असूलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलित कानुनबमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य अविलम्ब बन्द हुनुपर्ने ।

२. कार्यस्थलमा नियमित उपस्थित भई निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने ।

३. अनुसन्धान गर्ने निकायले केहि कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा रहेको अवस्थामा के- कति कारणले गिरफ्तार गरेको हो? सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिई अमानवीय तरिकाले गिरफ्तार गरेको हुँदा यस्ता कार्य अविलम्ब बन्द हुनुपर्ने र बिना प्रमाण थुनामा राखिएको सबैलाई रिहा गर्नुपर्ने ।

४. अनुसन्धानलाई नै विषयान्तर गर्ने गरी दोषी प्रमाणित नहुँदै संविधान प्रदत्त गोपनियताको हक वर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अविलम्ब बन्द गरिनुपर्ने ।

५. विभिन्न संचार माध्यमहरुबाट खुलासा भएका योजनाकार तथा सो सँग संलग्न देखिएका व्यक्ति र अपराधमा प्रत्यक्ष संलग्नता भएका भनिएका व्यक्तिलाई संरक्षण गर्ने र राष्ट्रसेवक कर्मचारीलाई मात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्ने ।