२०८१ बैशाख १५ , शनिवार

ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई तारेखमा छोड्न आदेश

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ ।

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेश गरेको थियो ।