२०८१ बैशाख २३ , आइतवार

‘एक भगवत् गीता’ को नाम फेरिने

bhagwat-geeta-1694340165

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘एक भगवत् गीता’ को नाम परिवर्तन गरिने भएको छ। अब फिल्मको ‘एक भागवत र एक गीता (सामाजिक कथा) रहनेछ। फिल्मको नामलाई लिएर केही आध्यात्मिक संस्थाहरूले चलचित्र विकास बोर्डमा उजुरी हालेका थिए।

हिन्दु जागरण नेपाल, आध्यात्मिक विकास समाज र विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले अन्तरजातीय प्रेमकथामा श्रीमद्भागवद गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुनु अनुचित रहेको भन्दै आपत्ती जनाएका थिए।

बोर्डमा आइतबार बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, फिल्मका निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र धार्मिक संगठनका प्रतिनिधिहरूबीच छलफल भएपछि फिल्मको नाम परिवर्तन गर्ने सहमति भएको हो।

फिल्मको नामलाई लिएर विवाद आएपछि बोर्डले सेन्सर सिफारिस रोकेको थियो।

फिल्मका निर्माता सुनिल कुमार थापाले विवाद टुंगिएसँगै सेन्सरको प्रक्रिया अगाडि बढेको बताए।

 

सुनिलकुमार थापाको लगानी रहेको फिल्ममा विपीन कार्की, सुहाना थापा, धिरज मगर, जेभिस श्रेष्ठ, जेभिन श्रेष्ठ, कविर खड्का, संजोग रसाइली, अनुराग कुँवार, रामकैलाश ठाकुर, मदन ठाकुर, धिरज ठाकुर, मुकेश झा, सुरेन्दर भण्डारी, गंगा झा, केसब क्षेत्रीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक थापाले लेखेकी हुन्।

यो फिल्म भदौ २९ गतेदेखि प्रदर्शन हुँदैछ।