२०८१ बैशाख २३ , आइतवार

तमानखोलामा ‘आलु महोत्सव’

aluu 2

सुनाखरी न्युज/ काठमाडौं ।
बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन हुन्छ । प्रचारप्रसार र बजारीकरण अभावमा किसानले उत्पादन गरेको आलु बजारसम्म पुग्दैन । यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी आलु उत्पादन भएको छ । आलु प्रवद्र्धन र बजारीकरणका लागि गाउँपालिकाले आलु महोत्सव आयोजना गरेको छ ।

गाउँपालिकाले आगामी असोज १ देखि ४ गतेसम्म वडा नं ४ को लाम्मेलामा आलु महोत्सव गर्न थालेको हो । कृषकलाई बजारसँग जोड्न र उत्पादनलाई थप बढाउनका लागि आलु महोत्सवले टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । पर्यटकीय क्षेत्र सोलेडाँडाका काखमा अवस्थित लाम्मेलामा आयोजना गरिएको महोत्सवले कृषकलाई आलु उत्पादन गर्नेतर्फ थप आकर्षित गर्ने उहाँको भनाइ छ ।

अहिलेसम्म लाम्मेलाको आलुले बजार नपाउँदा किसान मर्कामा पर्ने गरेको भन्दै महोत्सवले तमानखोलाको आलु देशका विभिन्न सहरमा पुग्ने वातावरण सिर्जना गर्ने अध्यक्ष बुढामगर बताउनुहुन्छ । वर्षौंदेखि तमानखोलाका किसानले हजारौँ रोपनी जग्गामा आलु उत्पादन गर्दै आएको जनाउँदै उनीहरुलाई गाउँपालिकाले पनि अनुदान र प्राविधिक सहयोग गर्दै आएको बुढामगरको भनाइ छ ।

“हाम्रो पालिकाको तमान, लाम्मेला, नर्जाखानीलगायतका थुप्रै गाउँमा आलु उत्पादन हुन्छ, तर बजारमा भने भारतबाट आएका विषदीयुक्त आलु बिक्री हुन्छ, अब बाहिरबाट आउने आलुलाई रोक्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि तमानखोलामा पहिलो पटक आलु महोत्सव गर्दैछौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “महोत्सवले यहाँको आलुको प्रचार हुनेछ, तमानखोलाको आलु एउटा ब्राण्ड बन्नेछ, कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने र आयआर्जनको राम्रो माध्यम बनाउने उद्देश्य लिएका छौँ ।”

महोत्सवका अवसरमा स्थानीय झाँकी, कला, संस्कृति प्रदर्शन गरिनेछ भने आलुबाट बनाइएका परिकारका कक्ष राखिनेछन् । तमानखोलाका विभिन्न वडामा हाल आलु पकेटक्षेत्र घोषणा गरी किसान उत्पादन वृद्धि गर्नसमेत लागेका छन् ।
रासस