२०८१ बैशाख २० , बिहिवार

हजारौं केसका फाइल खोलिँदै छ : प्रधानमन्त्री दाहाल

PM Dahal

सुनाखरी न्युज/ गोरखा ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवासजस्तै सरकारी जग्गा व्यक्तिको नाममा ल्याएर माफियागिरी गर्ने हजारौं केसको फाइल खोल्ने बताएका छन् ।

गोरखाको सिरानचोक गाउँपालिकामा शनिबार भएको जनप्रतिनिधि तथा सिरानचोकवासीसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले अनेक जालझेल गरेर सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने माफियागिरी देशभर नै रहेको बताए ।

ललिता निवास सुरुआतमात्र भएको उनले बताए । ‘त्यो केन्द्रको जग्गाको कुरो भयो, त्यहाँ हाम्रो उद्देश्य कसैलाई फसाउने होइन,’ उनले भने । जालझेल गरेर सरकारको जग्गा कसैको लगेको छ भने कारबाही हुने दाहालले बताए ।

सुन तस्करीको जालो तोड्न आफ्नै विशेष अभिरुचीका साथ अनुसन्धान प्रक्रिया सुरु भएको पनि उनले बताए । ‘अनुसन्धान प्रक्रिया सुरु गर्दै जाँदा सेटिङमा संलग्न भएका २७-२८ जना गिरफ्तार भएका छन्, यो पार्टी त्यो पार्टी भन्ने छैन, जुन पार्टीका जुनसुकै स्तरका नेता कार्यकर्ता भए पनि कर्मचारी भए पनि उनिहरुमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ,’ उनले भने ।

ललिता निवास प्रकरण, सुन तस्करी तथा मिटरब्याज पीडितको आवाजलाई सम्बोधन गर्ने सँगै लघुवित्त वा सहकारीका वेथितिविरुद्ध पनि नयाँ अभियान सुरु भएको उनले बताए । गरिब र निमुखालाई मात्र कानुन लाग्छ, ठूला नेता, मन्त्री, सचिव पदाधिकारीलाई लाग्दैन भनेजस्तो बुझाईलाई बदल्ने जमर्को गरेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

 

 

न्याय र समानताको आन्दोलनलाई कमजोर बनाउने काम भष्टाचारले गरेको उनले बताए । ‘यो सुरुआतमात्र हो, निरन्तर अघि लानुपर्छ । माथिदेखि तलसम्म भष्टाचारको जालो जबसम्म तोडिँदैन, सुशासन स्थापित हुँदैन,’ उनले भने, ‘सुशासनको अभियान रोकिन हुँदैन, तलबाट आवाज उठाइदिनुभयो भने सरकारको लागि उर्जा हुन्छ, मनोबल पैदा हुन्छ ।’

प्रधानमन्त्री दाहालले शनिबार नै पालुङटार नगरपालिका–२ आपपिपलमा भएको जनयुद्धका सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको २४ औँ स्मृतिसभालाई सम्बोधन गरेका थिए । दाहालले शनिबार अजिरकोट, सिरानचोक र आपपिपलमा भएको तीनवटा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।