२०८१ बैशाख २० , बिहिवार

चीनका सरकारी कार्यालयमा आइफोन प्रयोगमा रोक

Iphone-charge

सुनाखरी न्युज/ काठमाडौं ।
एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिज सार्वजनिक गर्नु केही दिनअघि चीनले यस्तो निर्णय लिएको छ कि जसले गर्दा एप्पललाई ठूलो झट्का लागेको छ ।

विदेशी उपकरणमा नियन्त्रण गर्दै विदेशी प्रविधिमाथिको निर्भरता कम गर्नका लागि चीन सरकारी केन्द्रीय सरकारी निकायहरुमा आइफोनलगायतका अन्य विदेशी ब्राण्डका डिभाइसहरु प्रयोग नगर्न अधिकारीहरुालई आदेश दिएको छ । योसँगै चीनका केन्द्रीय निकायहरुमा सरकारीका कामका लागि आइफोनको प्रयोग गर्न नपाइने मात्र होइन कार्यालयमा आउँदा समेत आइफोन ल्याउन पाइने छैन ।

 

वालस्ट्रिट जर्नलका अनुसार हालैका हप्ताहरुमा यस्तो आदेश दिइएको हो, यद्यपि आदेशको व्यापकताको बारेमा भने प्रष्ट भै नसकेको बताइएको छ । यद्यपि एप्पलसँगै अन्य कुन-कुन कम्पनीका फोनहरुलाई चीनका सरकारी निकायमा बन्देज लगाइएको हो भन्ने विवरणचाहिं उक्त समाचारमा उल्लेख छैन ।

चीनको पछिल्लो कदमले एप्पलका आइफोन तथा अन्य प्रडक्टहरुको महत्वपूर्ण उत्पादन हबको रुपमा रहेको चीनमा एप्पलको सफलतालाई असर पार्ने देखिएको छ ।

 

चीन आइफोनको सबैभन्दा ठूलोमध्येको एक बजार मात्र नभई एप्पल कम्पनीको २० प्रतिशत आम्दानी चीनमै हुने गर्दछ । चिनिया स्मार्टफोन बजारमा आइफोनको हिस्सा १६ प्रतिशत रहेको छ ।

यहीँ सेप्टेम्बर १२ मा एप्पलले आइफोन १५ सिरिज सार्वजनिक गर्ने मिति तय भएको सन्दर्भमा त्यसको केहीदिन अघि मात्रै चीनको पछिल्लो कदम आएको छ ।

 

-एजेन्सी