२०८१ बैशाख २० , बिहिवार

नेपालमा लगानी शिखर सम्मेलन आयोजना गर्ने तयारी, बाह्य लगानी भित्र्याउने उद्धेश्य

Prakash S Mahat

सुनाखरी न्युज/ काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । सिंहदरबारमा शुक्रबार  आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर उनले सो घोषणा गरेका हुन् ।

अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी समेत नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको बताए । त्यस अवसरमा उनले नेपालमा आर्थिक वृद्धि बढाउने राम्रा संकेतहरु देखिएको उल्लेख गर्दै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गरे ।

 

नेपालमा पर्यटन, कृषि, जलविद्युत र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने समेत अर्थमन्त्री महतले दाबी गरे ।

भारतमा १० हजार मेगावाट विद्युत १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताए ।

 

‘हाम्रो देश आर्थिक समस्याले विभिन्न कारणबाट गुज्रेको छ । तर राम्रो दिन आउँदैछ । यसको राम्रो संकेतहरु देखा पर्न थालेका छन् । यसको मतलव यो होइन कि हामी समस्यारहित भइसक्यौं भन्ने होइन । समस्याहरु छन् । तर ती समस्याहरुलाई हटाउँदै आर्थिक वृद्धि बढाउने राम्रो अवसरहरु अब सुरु हुन्छ । र, त्यसका संकेतहरु देखिएका छन्’ अर्थमन्त्री महतले भने ।

विदेशी मुद्राको सञ्चिति राम्रो रहेको र पर्यटक आगमनमा पनि वृद्धि भइरहेकोले यसबाट मुलुकको आर्थिक गतिविधि बढ्ने उनले बताए ।