२०८१ जेठ ४ , शुक्रवार

निजामती सेवा ऐन चाँडो ल्याउन कर्मचारीको माग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
निजामती सेवा ऐन अहिलेसम्म नबन्दा काम गर्न समस्या भएको निजामती कर्मचारीले बताएका छन् ।

निजामती सेवा दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा निजामती कर्मचारीले सङ्घीयता कार्यान्वयनमा गइसक्दा पनि निजामती सेवा ऐन नबन्दा आफूहरुलाई काम गर्न समस्या भएको बताएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारुले निजामती सेवा ऐन ल्याउन ढिलाइकै कारण काम गर्न समस्या रहेको बताउनुभयो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाङ्गीले विकासका कामलाई अगाडि बढाउन कर्मचारीको भूमिका धेरै हुने भन्दै कर्मचारीको कार्यसम्पादन राम्रो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले विगतमा नेपालभन्दा कम प्रतिव्यक्ति आय भएको चीन आर्थिक हिसाबले धेरै अगाडि बढिसकेको भन्दै नेपाललाई पनि तीव्र आर्थिक गतिमा लैजान कर्मचारी र जनप्रतिनिधि एकताबद्ध भएर लाग्नुपर्ने सुझाव दिनुभयो ।

यस्तै, आधिकारिक ट्रेड युनियनका अध्यक्ष लालबहादुर खत्रीले व्यवस्था नयाँ ल्याएको भन्दै अवस्था भने पुरानै रहेको बताउनुभयो । उहाले ६८ वर्षसम्म पनि निजामती सेवा ऐन बन्न नसक्दा काम गर्न कर्मचारीलाई काम गर्न समस्या रहेको बताउनुभयो ।

ढिलै भए पनि प्रदेश निजामती सेवा ऐन छलफलमा गएको र सङ्घीय निजामती सेवा ऐन पनि मन्त्रिपरिषद्बाट पारित भएर संसदमा लिन लागिएकाले अब समस्या हल हुँदै जानेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । कोभिडको बेलामा काजमा खटाइएका स्वास्थ्यकर्मी अहिले विभिन्न ठाउँमा अलपत्रमा परेको भन्दै यसको समाधानतर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले निजामती सेवा ऐन आउन नसक्दा काम गर्न अप्ठ्यारो भएको उल्लेख गर्दै कर्मचारीले पनि नागरिकले दिने सेवाका सन्दर्भमा अलि गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीकै कारण बजेट समयमै खर्च हुन नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै यो आरोपलाई चिर्ने गरी काम गर्न सबै कर्मचारीलाई अनुरोध गर्नुभयो ।

समृद्धि लागि काम गरौँ ः मन्त्री सिंह

सो अवसरमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले राज्य सफल बनाउन र समृद्धि हासिल गर्नका लागि स्थायी सरकारका रुपमा रहेको कर्मचारीको भूमिका धेरै हुने बताउनुभएको छ ।

देश कर्मचारीको कारण बिग्रिएको भन्ने गरिएको बताउँदै मन्त्री सिंहले कर्मचारीका कारण मात्रै नभई यसमा राजनीतिककर्मीको पनि उत्तिकै कमजोरी रहेको बताउनुभयो । कर्मचारीले राजनीतिक आग्रह पूर्वाग्रह राखेर काम गर्न नहुनेमा जोड दिँदै मन्त्री सिंहले त्यसमा राजनीतिक नेतृत्व र जनप्रतिनिधिले पनि हस्तक्षेप गर्न नहुनेमा जोड दिनुभयो । उहाँले कर्णालीको समृद्धिका लागि सबै क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रदेश निजामती सेवा ऐन चिट्टै पास हुन्छः कार्यवाहक मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश सरकारले निजामती सेवा ऐन ल्याएर छलफलका लागि समितिमा पठाइएको भन्दै छिट्टै यो ऐन आउने बताउनुभयो ।

उहाँले प्रदेश निजामती ऐन आएपछि कर्मचारीलाई काम गर्न सहज हुने बताउनुभयो । कर्णाली सबैभन्दा पछाडि छ भनेर भन्ने गरिएको भन्दै उहाँले यहाँको स्रोत साधनको प्रयोग गरे मात्रै देशकै समृद्धि आधार बन्ने दाबी गर्नुभयो । त्यसका लागि काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्नेमा उहाँको जोड छ ।

यसैबीच, प्रदेश सरकारले ११ जना कर्मचारीलाई सम्मानित र पुरस्कृत गरेको छ । दिवसका अवसरमा सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा गरी ११ जनालाई पुरस्कृत गरेको हो ।
रासस