२०८१ जेठ १ , मंगलबार

व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संस्कृति र परम्परा झल्कने गरी व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह गर्दै विद्यमान कानुन र नीतिविपरीत संरचना बनाउनेलाई कारबाही गर्न माग गर्नुभएको छ ।

उहाँले सरकारी आयोजना र निकायले नै मापदण्डलाई पालना नगरी नदी कटानसमेत गरी संरचना निर्माण गरिँदा कारवाही नहुने तर सर्वसाधारण जनताले कमजोरी गरेमा डोजर लगाएर भत्काइने शैली उचित नभएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले गणतन्त्र आएपछि एउटा पनि सरकारी अस्पताल नबनेकाले स्वास्थ्य सेवा सहज नभएको टिप्पणी गर्नुभयो । जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले नेपालका लागि चीनका राजदूतले नेपाल र भारतबीचको सम्बन्धका बारेमा आफूखुसी वक्तव्य दिइनु नेपाली स्वाभिमानमाथिको प्रहार भएको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरीले राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाइ ब्याजदरमा सरलीकरण गर्नुपर्नेमा जोड दिनुभयो । जनमत पार्टीका अब्दुल खानले सप्तरीको गजेन्द्रनारायण सिंह स्मृति अस्पतालमा सिन्डिकेट खडा गरी व्यवस्थापनले लापरबाही गर्दा जनताले बाहिर गएर सेवा लिनुपर्ने स्थिति अन्त्य गर्न माग गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लले भारतसँग विद्युत् व्यापार सम्झौता गर्दा नेपाललाई लाभ हुने गरी गर्न आग्रह गर्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले नेपालस्थित विदेशी राजदूतले नेपालले कुन देशसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्ने बारेमा सार्वजनिक अभिव्यक्ति दिन नहुने बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने नेपालको आर्थिक समृद्धि यसरी हुन्छ भनेर चिनियाँ राजदूतले भनिनुलाई आपत्तिको विषय नभएको तर्क राख्नुभयो ।

आमजनता पार्टीका प्रभु साहले मुलुकभित्र दोहन गरेर विदेशमा लगेर सम्पत्ति थोपर्ने र विदेशमा गएर श्रम गरेर नेपालमा विप्रेषण भित्र्याउने कसका पक्षमा सरकार छ भन्ने स्पष्ट हुन आवश्यक रहेको बताउनुभयो । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले भागबण्डाको राजनीति अन्त्य गरेर सुशासन कायम गर्न माग गर्नुभयो ।
रासस