२०८१ बैशाख ३१ , सोमवार

महेन्द्र यादवमाथि भएको आक्रमणको भत्र्सना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का सचिव एवम् सांसद देवेन्द्र पौडेलले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भत्र्सना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको वैठकको विशेष समयमा उहाँले भन्नुभयो, “आक्रमण गर्ने व्यक्ति कुनै दल विशेषको होइन भन्ने आएको छ, तर पनि उहाँले त्यहाँ व्यक्त गरेका विचार र नारा सुन्दा अहिलेको यो प्रणाली, संविधान, कतिपय राज्यका स्थापित मान्यतालाई सिधैँ अस्वीकार गरेर प्रतिकारस्वरुप आक्रमण गरेको कुरा प्रस्ट छ ।”

उहाँले वर्तमान व्यवस्था ल्याउनका लागि लामो सङ्घर्ष गरिएको भन्दै प्रणाली बचाउनका लागि पनि सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अराजक प्रवृत्तिलाई राज्यको कानुनी कठघरामा ल्याएर कारबाही गर्नका लागि उहाँले जोडदार माग गर्नुभयो ।

पौडेलले पाँच वर्षे रोजिना गोपालीको उपचारको अभावमा मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभयो । डेङ्गु रोग नियन्त्रण गर्नका निम्ति स्वास्थ्य प्रणालीलाई सुधार गर्नुपर्ने उहाँको भनाइ छ । बैठकमा सांसद गणेश पराजुलीले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने अपराधीले कुनै पनि बहानामा उन्मुक्ति पाउन नहुने माग गर्नुभयो ।
रासस