२०८१ बैशाख २६ , बुधवार

परम्परागत सीप र पढाइ सँगसँगै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौर स्थित भानु माध्यमिक विद्यालयले स्थानीयस्तरका परम्परागत सीप र पढाइलाई सँगसँगै सिकाउँदै आएको छ ।

दिनभरिको पढाइबाट थकित हुने विद्यार्थीलाई तनावमुक्त बनाउन अन्तिममा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको छ । विद्यालयले सिक्दै पढ्दै अभियानअन्तर्गत गायन वाद्यबादन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला, बाबियाँको डोरी बाट्नेलगायतका कार्यलाई प्राथामिकता दिन थालेको हो ।

करिब एक हप्ताअघिदेखि पढाइको साथसाथै सीपमूलक शिक्षा प्रदान गर्न थालेपछि अभिभावकसमेत खुसी हुन थालेको विद्यालयका शिक्षक बुद्धिबहादुर बरालीले जानकारी दिनुभयो । घोकन्ते शिक्षाको तुलनामा व्यवहारिक शिक्षा प्रभावकारी बन्दै जाँदा विद्यालयका शिक्षक पनि उत्साहित भएर सिकाउन लाग्नुभएको उहाँले बताउनुभयो ।

कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई आफ्नो रुचिको विषय क्षेत्र छुट्टाएर सिक्न लगाइएको प्रधानाध्यापक प्रेमबहादुर दरैले जानकारी दिनुभयो । विद्यालयमा हाल डेढ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

स्थानीयस्तरका सीप विस्थापित बन्दै गएको अवस्थामा यस किसिमको शिक्षाले संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । आफ्ना छोराछोरीलाई अभिभावकले सिकाउनुपर्ने दायित्व भए पनि त्यो हुन नसक्दा विद्यालयले पहलकदमी थालेको हो ।

स्थानीयस्तरका सीप लोपोन्मुख हुने अवस्थामा पुगेकाले संरक्षण गर्दै सीप हस्तान्तरण गर्ने योजना रहेको प्रअ दरैले बताउनुभयो । शिक्षक पुरन गुरुङले विद्यार्थीलाई प्रशिक्षण दिँदै आउनुभएको छ ।
रासस