२०८१ बैशाख २१ , शुक्रवार

कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र

Capture – 2023-09-05T154826.662

सुनाखरी न्युज/ काठमाडौं ।
इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमाल परीक्षणसहितको अनुसन्धान केन्द्र निर्मा गरिएको हो ।

विदेशी चिया पारखीलाई लक्षित गरी बनाइएको अनुसन्धान केन्द्र रु १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इञ्जिनीयर आशिष सुवेदीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६÷७७ मा सुरु भएको अनुसन्धान केन्द्र दुई चरणमा गरेर सम्पन्न भएको हो ।

पहिलो चरणमा आर्थिक वर्ष २०७६÷७७ मा भवन निर्माण तथा दोस्रो चरणमा भित्री डिजाइनसहितको कामको सम्झौता भएको थियो । सडक कालोपत्रसहितको काम बाँकी रहेको छ । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष २०८०/८१ मै अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका काम सम्पन्न गर्नासाथ केन्द्र सञ्चालनमा आउँछ ।”

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभइ देशकै लागि गौरवको विषय भएको बताउनुभयो । उक्त स्थानमा चिया सङ्ग्राहलय, चिया परीक्षण, चिया बिक्री कक्ष, सभाहललगायत संरचना रहेका छन् ।

नगरप्रमुख राईले भन्नुभयो, “चियाको स्वाद चाख्न आउने चिया पारखी र चियाको अनुसन्धान गर्न आउनेका लागि ठाउँ तयार भएको छ ।” केन्द्र निर्माणले नगरको आन्तरिक आम्दानीसमेत बढ्ने उहाँले बताउनुभयो ।

अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी उक्त अनुसन्धान केन्द्रमा राखिनेछ । सूर्योदय नगरपालिकाको अधिकांश भूभाग चियाले ढाकेको छ । कोशी प्रदेशको पर्यटकीय नगरी सूर्योदयका अधिकांश नागरिक चिया खेतीमा आवद्ध छन् ।
रासस