२०८१ बैशाख २१ , शुक्रवार

लोडसेडिङका कारण क्याम्पसमा पढाउन समस्या

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ ।

विद्युत जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाई सञ्चालन गर्न मोबाइलको टर्च बाल्नु पर्ने अबस्था आइपरेको क्याम्पसका आंशिक प्राध्यापक शिवराज शर्माले बताउनुभयो । हिल्दुम विद्युत् वितरण केन्द्रले लोड सेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उहाँको भनाइ थियो । बिहान ६ बजेदेखि पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पढाउनु परेको छ ।

प्राध्यापक शर्माले भन्नुभयो, “यो समस्या विशेष गरी अभ्यास गर्दा हुने गरेको छ । आफूले कालोपाटीमा लेख्दा मोबाइलको टर्च बाल्नुपर्ने र विद्यार्थीले पनि कापीमा टिप्दा टर्च बाल्नुपर्छ । क्याम्पसमा चार वटा कक्षा यसरी नै चल्दै आएका छन् ।”

सामुदायिक क्याम्पस भएकाले स्रोत नहुँदा विद्युतको विकल्प खोज्न गर्न नसकिएको क्याम्पस प्रमुख प्रमुख दीपक भण्डारीको भनाइ थियो । उक्त वितरण केन्द्रलाई लोडसेडिङको समय तालिका हेरफेरका लागि अनुरोध गर्दा नसकिने जवाफ आएको उहाँले बताउनुभयो । उक्त क्याम्पसमा हालै स्नातक तह पहिलो वर्षको पढाइ सुरु भएको छ ।

स्ववियुको निर्वाचन पछि उक्त क्याम्पसमा नियमित पठनपाठन भइरहे पनि अध्यारोका कारण निकै समस्या भएको विद्यार्थी अमर बोहराले गुनासो गर्नुभयो । शिक्षकलाई पनि पढाउन समस्या छ, हामीलाई पनि समस्या बनाएको उहाँको भनाइ थियो ।