२०८१ बैशाख २१ , शुक्रवार

मजदुर समेट्न कार्यथलो अभियान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले कार्यथलो अभियान सञ्चालन गर्ने भएको छ । भदौ १६ देखि १८ गतेसम्म पोखरामा सम्पन्न कार्यशाला तथा केन्द्रीय कमिटीको बैठकले असोज ५ गतेदेखि मङ्सिर ३० गतेसम्म तीन महिने कार्यथलो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

कार्यथलो अभियान देशभरिका पालिकाको बसपार्क, विभिन्न रुट, वर्कशप, ग्यारेजलगायत श्रमिकले काम गर्ने स्थलमा सञ्चालन हुनेछ । केन्द्रीय कमिटीका नेतृत्व प्रतिनिधि, प्रदेश नेतृत्व अभियन्ताका रुपमा परिचालन हुने अभियानको अनुगमन जिफन्टका सबै प्रदेश अध्यक्षले अनुगमन र निरीक्षण गर्नुहुनेछ । अभियानले सङ्गठनको सदस्यता र नवीकरणमा वृद्धि, कमिटी विस्तार श्रमिकको यथार्थ समस्याको पहिचान हुने अपेक्षा गरिएकोछ ।

त्यस्तै नेतृत्व तहमा देखिएका अन्तरविरोध र विवादको समाधान हुनेछन् भने कमिटीबीचको तहगत अन्तर्विरोधको अन्त्य र इन्चार्जको भूमिकाका स्पष्ट हुनेसमेत सङ्गठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । यही अभियानमार्फत सङ्गठनमा सम्भावनायुक्त नयाँ पुस्ताका युवा, महिलाको पहिचान गरी भावी नेतृत्वका रुपमा विकास हुने अपेक्षा गरिएको छ ।

सङ्गठनले फेरिएको यातायात श्रम क्षेत्र, सुधारका लागि हाम्रो भूमिका विषयक कार्यशालामा देशभरिका अगुवा नेतृत्वलाई सहभागी गराइ दुईदिन छलफल गरेको थियो भने कार्यशालाबाट आएको निष्कर्षलाई सङ्गठनको तेस्रो बैठकमार्फत वार्षिक कार्यक्रम बनाएको छ ।

वार्षिक कार्यक्रममा १३ हजार तीन सय २५ नयाँ सदस्यता वितरण गर्ने र १७ हजार एक सय ४० सदस्यलाई नवीकरणसहित एक वर्षमा ३० हजार चार सय ६५ यातायात श्रमिकलाई समेट्ने लक्ष्य राखेको छ । कार्यशालामा जिफन्ट सातवटै प्रदेश कमिटीका अध्यक्ष, सङ्गठनका पूर्वअध्यक्षसमेत पर्यवेक्षकका रुपमा सहभागी रहनुभएको छ ।

जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यशालाको सहजीकरण जिफन्ट उपाध्यक्ष विदुर कार्की र नरनाथ लुइँटेलले गर्नुभएको थियो ।
रासस